सदरलाइनडटकम
१७, भदौ नेपालगन्ज : नेपालगन्जको धम्बोझीचोकमा बिहीबार राखिएको पूर्व राजा वीरेन्द्रको अर्धकदको शालिक स्थानीय प्रशासनले हटाएको छ । चोकमा रहेको झण्डा फेर्ने बाहानामा राप्रपा नेपाल निकट राष्ट्रबादी युवा समूहद्वारा बिहीबार बिहान करिव साढे ९ बजे सो शालिक राखेका थिए । शुक्रबार बिहान करिव दुईबजेतिर स्थानीय प्रशासनले सो शालिक हटाएको हो ।
शालिक राखेपछि नै प्रहरी प्रशासनले हटाउन सक्ने भएको भन्दै राप्रपा नेपालका युवा कार्यक्रर्ताहरु चोकमै धर्नामा बसेका थिए । शुक्रबार विहान २ बजे प्रहरीले शालिक हटाउने क्रममा अवरोध गर्ने राप्रपा नेपाल बाँकेका कोषाध्यक्ष तेजनारायण कंडेलसंहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा बिजय गुरुङ्ग, हुकुम केसी, देवा प्रसाद बाहुन, दीपेश पौडेल, ध्रुब कुर्मी, नन्कउ काँदु रोशन गुरुङ्ग, सुमन शाह र शोभा शाही रहेका राप्रपा नेपाल बाँकेले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय जमुनाहमा राखिएको छ ।
राप्रपा नेपालको अगुवाईमा नेपालगन्जको धम्बोझी चोक र त्रीभुवन चोकमा पूर्वराजा वीरेन्द्र र त्रीभुवनको अर्धकदको ढलोटले बनेको ८७ किलो तौलको शालिक राख्ने योजना रहेकोमा धम्बोझी चोकमा मात्र पूर्व राजा वीरेन्द्रको मात्र राख्न सफल भएका थिए ।
आफ्ना कार्यकर्तालाई नियन्त्रणमा लिएर धम्बोझी चोकमा राखिएको पूर्व राजाको शालिक हटाईएको भन्दै शुक्रबार पार्टीको नेतृत्वमा विरोध ¥याली निकाल्ने तयारी भएको राप्रपा नेपालका अध्यक्ष ऋषिराज देवकोटाले जानकारी दिए ।
उनले भने–‘हामी पार्टीको तर्फबाट ¥याली निकाल्दै घटनाको विरोध जनाउछौ । आगामी कार्यक्रम के गर्ने भन्ने बारेमा पार्टीमा छलफल गरी विरोधका चरणबद्ध कार्यक्रम ल्याउने तयारीमा छौ ।’ सो घटनापछि विरोध प्रदर्शन हुनसक्ने भएकोले स्थानीय प्रशाशनद्वारा नेपालगन्जको धम्बोझी चोकमा व्यापक प्रहरी परिचालन गरिएको छ ।