आज कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । सनातन हिन्दू धर्म अनुशार कुशे औंसी परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा बुबाको मुखहेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने चलन रहेको छ । त्यस्तैगरी आमाबाबु नहुनेले पवित्र तिर्थ स्थलहरुमा बिषेश गरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण ,दान , पुण्यगरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
अर्कोतिर हिन्दू संस्कारमा कुशको विशेष प्रकारको महत्व रहेको छ । कुशको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्मिक कार्य गरिँदैन त्यसकारण आजको दिनलाई कुशे औंसी भनेर पनि भनिएको हो । बुबा अर्थात जन्मदाता सबैले आफ्नो आफ्नो भाषा अनुसार सम्बोधन गरिन्छ । म मेरो जन्मदातालाई (पापा)भनेर सम्बोधन गर्छु । पापा म हजुरलाई धेरै धेरै धन्यवाद दिन चहान्छु । हजुरलाई सम्झनको लागि आजको दिन कुरेर बस्नु त पर्दैन तर, पनि आज कै दिन लेख्न मन लाग्यो २–४ शब्दहरु ।
म जन्मेको दिन सबै भन्दा धेरै खुसि हजुर हुनु भएको थियो र म हजुर कि पहिलो सन्तान मैले जति माया, स्याहार सुसार साएदै मेरा भाई बैनीले पाएनन् होला । आजभोली म कहिले काहि सोच्छु हजुरको त्याग समर्पण अनी हामी प्रतिको माया र ममता मुटु पोलेर आउछ मनमा आगोको राको फैलन्छ अनी आखाको माध्यमबाट आसुको रुपमा बाहिरिन्छ । हो पापा साच्चै नै हजुरले हाम्रा निम्ति गर्नु भएको मेहेनत र संघर्षसंग तुलना गर्ने कुनै बस्तु कुनै शब्द केहि भेटिन मैले ।
आफ्नो ईमान्दारीताले अहिलेसम्म सानले बाचेका हामी हजुरलाई केहि दिन सकेनौ । खै हजुरको मन कतिको खुसि पारेकि छु त्यो त मलाई थाह भएन तर मेरो कारणले हजुरको मनमा ठेस पुगेको छ भने, जानेर होस या अन्जानमा चित्त दुखाएकी छु भने अबोध छोरीले गरेको गल्ति सम्झेर माफि दिनु है । आज पनि मलाई याद छ ति पुराना दिनहरु जुन दिन कति दुखका थिए कति चुनौतीपुर्ण थिय तर, ति सबै चुनौतीहरु आफुले नै सामना गरि यहा यो स्थानसम्म आउन सफल हुनु भयो । हामीलाई त्यस्ता दुख र पीडाबाट टाढै राखी आफुमात्र सहनु भयो । बाहिर साथीहरुसग बसेर समय बिताउन भन्दा घरमै आफ्ना परिवारलाई समय दिने हजुरको सोचलाई म सलाम गर्न चहान्छु ।
पापा हजुरले भन्नु भएका धेरै कुराहरु मध्य जहिले म हजुरको यो कुरा सम्झन्छु ‘अरुहरुको सम्पति घर, जग्गा , बैंक ब्यालेन्स होला तर मेरो सम्पति भनेका मेरा छोराछोरि तिमिहरु हौ’ अनि मनमा घमण्ड जागेर आउछ कि कति माया गर्ने पापा पाएका छौ हामिहरुले । जीवनको यात्राको हरेक पाईला चाल्नेक्रममा कतै लड्खराएर लड्न लागे भने हजुरको मुहार सम्झन्छु अनि हजुरको संघर्षको यात्रा सम्झन्छु अनि समाल्छु आफुले आफैलाई ।
हजुरले दिनुभएको संस्कार, ज्ञान, शिक्षा ले गर्दा नै आज यहा सम्म आउने आत्मबल जागेको छ । केहि गर्छु भन्ने मनोबल जागेको छ । मानिस भगवानको पुजा अनि दर्शन गर्न मठ मन्दिर धाउछन तर म आफुलाई हेरेर मुस्कुराउछु कारण म मा हजुरको रुप हजुरको छाया पाउछु । हजुरको र मेरो अनुहार उस्तै छ रे हजुर लाई याद छ हामि पर्वत जादा बाटोमा भेटिनु भएका सबैले के भन्नु भाको थियो ‘य आमै नि बाउलाई लुकाएर छोरी देखाए हुनी, य कती उस्तै हो मोहोडा, ठ्याक्कै बाउ’ हो म हजुर जस्तै छु ठ्याक्कै बानि ब्यहार ज्युडाल सबै हजुर कै । गर्व छ म हजुरकी छोरि हु । जिवनमा हजुरलाई सुख दिन सकुला नसकुला तर हजुरलाई सिर निउराएर हिड्नु पर्ने दिन कहिले आउन दिने छैन यो मेरो बाचा भयो हजुरलाई । एक दिन यस्तो दिन ल्याउने छु मलाई देखाएर हजुरले भन्नु हुने छ ‘उ त्यो सुष्मा ! त्यो मेरी छोरी हो मेरो ईज्जत अनि मान हो त्यो दिन ढिलो चाडो होला तर अवश्य आउनेछ यो मेरो प्रण भयो ।’ तर, आजको दिन म टाढा छु तपाई संग प्रत्यक्ष भेट हुँदैन यसै विलौनाको माध्यमबाट सम्झन चाहान्छु ।
आजको दिन अरुका छोराछोरीले झै नयाँ लुगा, टन्न फलफुल, मिठाई लड्डु हजुरको अगाडि टक्रयाउन नसके पनि हजुरको बिश्वास र भरोसा कहिले तोड्ने छैन । त्यो आखामा लाज र सरमको आशु कहिले बग्न दिने छैन भन्ने प्रणभयो मेरो । आजसम्म मेरा हरेक ईच्छा चाहाना पुरा गर्नु भएको , मेरो हरेक पाईलामा साथ दिनु भएको छ जसको लागि म हजुरको पाउमा मेरो सिर राखि धन्यवाद चढाउन चहान्छु । हुन त छोरीले बाउको पाउ छुन हुन्न भन्ने हाम्रो सस्कारले त्यो गर्न नदिय पनि मनदेखि सम्मान गर्छु पापा । म भन्न चाहान्छु कि यो संसारमा मैले धेरै माया हजुरलाई गर्छु । हजुर मेरो गुरु , मेरो भगवान, मेरो खुसी, मेरो जिन्दगि हजुर नै ।