बाँके राप्ती सोनारीका बाढी पीडित भन्छन : उद्दार र राहत भन्दा सुरक्षित आवास देउ

२१ भाद्र २०७४, बुधबार ११:१८
 

सदरलाइनडटकम
२१ भदौ, नेपालगन्ज : बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ६ र ७ का बासिन्दा वर्षेनी राहत र उद्दारको विकल्पमा सुरक्षित आवसको लागि पहल गरिदिन आग्रह गरेका छन् ।
‘हरेक वर्ष उद्दार र राहत दिनु भन्दा हामीलाई सु्क्षित स्थानमा बस्ने व्यवस्था मिलाई दिनुप¥यो’–बाँके राप्ती सोनारी– ६ कमैया डाँडाकी ३५ वर्षिया फुलकुमारी थारुले भनिन्–‘ आकासमा कालो बादल मडारीने बित्तिकै मुटुले ढ्याङग्रो ठोक्न थाल्छ सधैको डर र त्रासबाट जोगिनको लागि राज्यले सुरक्षित स्थानमा आफ्नो बस्ती सार्नु प¥यो ।
गत साउन २८ गते राप्ती नदीमा आएको बाढीले फुलकुमारीको घर डुबाएको थियो । उनले त्यो घटना सम्झदै भनिन–‘हेर्दा हेर्दै घर समुद्रको बीचमा भएको जस्तो गरी डुब्यो श्रीमान प्रेमलाल घरको सामान बचाउन लाग्नु भयो मैले भने २ वटा बच्चा टिपेर स्कुल तिर भागे, स्कुलमा पनि बस्ने ठाँउ काँहा थियो र ?’
नजिकै रहेकी ७० वर्षिया गनसरी सुनारले उठ्ने बित्तिकै बाहिर हेर्दा पानी पानी देखे खटियाबाट झर्दा पानीमै टेकिएपछि आफु झस्केर नजिकै सुतेका श्रीमानलाई उठाउदै घरमा भएको एउटा सुंगुरको पाठो बोकेर स्कुलतिर लागेको बताईन । उनले भनिन–‘२०७१ सालमा आएको बाढीले तंग्रिन नपाउदै फेरी पनि दैबले बज्र हाम्रै थाप्लामा प्रहार ग¥यो । बस्ने बास छैन, बनतिर जाँदा बनले लखेट्छ । घर भएको ठाँउमा हिलै हिलो छ टाउको छोप्ने ओत कहाँ पाईने हो यो बुढेसकालमा साह्रै चिन्तामा परियो ।’
कमैया डाँडाका सुवास चन्द्र सुनार बाढीका कारण आफुहरु तिनदिनसम्म धमिलो पानी र भिजेर कुहिन लागेको चामल खाएर गुजरा चलाएको बताए । उनले भने–‘ घरमा पानी भरिएपछि नजिकैको स्कुलमा जम्माभयौ । ओभानो ठाँउ कतै पनि थिएन, धारा पेल्दा पनि धमिलै पानी आउथ्यो त्यै धमिलो पानी र भिजेको चामलले तीनदिनसम्म गुजारा चलायौ ।’
माथिका फुलकुमारी, गनसरी र सुवासचन्द्र जस्तै टिकाराम थारु, बिजुलिया थारु, गोलु थारु, नरबहादुर पुन, धना परियारको पीडा पनि उस्तै हो । उनीहरु सबैको एकै स्वर छ,‘हरेक वर्ष बाढी आएपछि राहत र उद्दार गर्नु भन्दा सुरक्षित बास चाहियो ।’
बाँकको राप्ती, डुडुवा र मान नदी किनारका बस्तीहरु बितेका केही वर्ष यता बाढीको उच्च जोखिममा पर्दै आएका छन् । हरेक वर्ष बाढी आउदा उद्दार र राहतले मात्र नहुने बस्तीलाई नै सुरक्षित बनाउनको लागि ठोस गुरु योजना ल्याउनु पर्ने राप्ती सोनारी गाउपालिका–६ का वडा अध्यक्ष जनकराम थारु बताउछन् । उनले आफ्नो वडामा मात्रै बाढीका कारण १ हजार २ सय घरधुरीका ८ हजार व्यक्ति प्रभावित भएको बताए ।
वडा अध्यक्ष थारुले वडामा भएका प्राय सबै घरधुरी बाढीका कारण प्रभावित भएका छन् । राप्ती नदीमा तटबन्धसंगै बर्षेनी बाढीका कारण उठीबास लाग्नेहरुको लागि वडा कार्यालय, गाउपालिका र सम्बन्धित सरोकारवाला निकायले समयमै ठोस कार्यक्रम ल्याउन आवश्यक रहेको औल्याए ।
यसैगरी राप्ती सोनारी गाउपालिका–७ का वडा अध्यक्ष रामलखन थारुले आफ्नो वडा झन राप्ती नदिको किनार नै भएकोले पनि राप्तको बाढीको हरेक वर्षको कटान र डुवानको कारण मानिस बस्न योग्य ठाँउको अभाव हुने भएकोले सबैले यसको निराकरण गर्नको लागि पहल गरिदिन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पीडितको उजुरी नआउदा सादा तारेकमा राखेर अनुसंधान

२१ भाद्र २०७४, बुधबार ११:१८
सदरलाइनडटकम  २३ भदौ नेपालगन्ज : ‘अबको गन्तब्य, मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस मनाई रहदा बाँकेमा भने बेचविखनमा सक्रिय रहेका व्यक्तिलाई सो क्षेत्रमा क्रियाशिल संघसस्थाले प्रमाणसहित प्रहरीको जिम्मा लगाउदा पीडितको उजुरीको अभावमा प्रहरीबाट त्यस्ताले सजिलै उन्मुक्ति पाउने गरेको छ । १३ वटा राहदानी […]