रास्वपा सभापति रवि लामिछाने पुनः प्रहरी हिरासतमा

सदरलाइन संवाददाता २८ पुष २०८१, आईतवार १७:१०
 

काठमाण्डौ :  पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पुनः प्रहरी हिरासतमा लगिएको छ ।

काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ ।

उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।


गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।

सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।

रास्वपा अनुशासन आयोगका पूर्व उप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् । न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *