बाह्रबर्दिया (बर्दिया) : प्लान ईन्टरनेशनल नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलद्वारा बाह्रबर्दियाको जनशक्ति आधारभूत विद्यालय परिसरमा नवनिर्मित किशोरी तथा अपाङ्गता मैत्री शौचालय र महिनावारी विश्राम कक्षको अनुगमनसंगै अभिभावक समुहसंग अन्तरक्रिया गरेको छ ।
प्लान ईन्टरनेशनलका क्वेली डेमियन (प्रमुख कार्यक्रम अधिकारी, ग्लोबल कार्यक्रम र संचालन समिति) लगायतका टोली सदस्यहरुलाई विद्यालय परिसरमा थारु संस्कृती र परम्पारा अनसार स्वागत गरिएको थियो ।
विद्यालयका प्रधानाध्यापक जीवन अर्यालले प्लानले राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) संगको साझेदारीमा निर्माण गरेको किशोरी तथा अपाङ्गता मैत्री शौचालय र महिनावारी विश्राम कक्षको कारण विद्यालयमा विद्यार्थीको अनुपस्थित हुने दर घटेको बताए ।
उनले भने–‘ यहाँ किशोरी तथा अपाङ्गता मैत्री शौचालय र महिनावारी विश्राम कक्ष निर्माण भएपछि महिनावारीको बेला पनि किशोरी छात्राहरु नियमित विद्यालय आउन थालेका छन् । उनीहरुको पढाईमा पनि सुधार आएको छ । यस अघि महिनावारी हुँदा विद्यालय नआउने र उनीहरुको पढाई छुट्ने हुन्थ्यो, अहिले उनीहरु नियमित विद्यालय आउने गरेका छन ।’
प्लानको सहयोगमा बर्दियामा राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) संगको सहकार्यमा बर्दियाको विभिन्न ५ वटा पालिकामा किशोरमैत्री बाताबरण तयार गर्न ‘किशोर–किशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार चरण–२’ कार्यक्रम सञ्चालन गरेको राधाकृष्ण थारु जनसेवा केन्द्र (आरकेजेएस) का अध्यक्ष दिनेशकुमार श्रेष्ठले बताए ।
उनले यसै कार्यक्रम अन्तरगत अभिभावकलाई लैङ्गिक मैत्री साक्षरता कक्षा सञ्चालन गरेको कारण अभिभावक समूह (फादर ग्रुप) निर्माण गरी उनीहरुलाई लैङ्गिकताका बारेमा तालिम दिएपछि समुदायमा समेत लैङ्गिक विभेद हटेको आफुले पाएको दाबी गरे ।
तालिममा सहभागि भएका अभिभावक मध्येका एक हुन हलिम जागा । मुस्लिम समुदायका उनी पहिला छोराछोरीमा विभेद गर्दै आएकोमा तलिममा सहभागि भएपछि छोराछोरी दुबैलाई बराबर व्यवहार गर्दै आएको बताए । उनले भने–‘ पहिला छोरा छोरीमा विभिद गर्ने गर्थे । लैङ्गिकता तालिममा सहभागि भएर घरजाँदा पहिलोपटक महिनावारी भएको बेला प्रयोगमा आउने प्याड बोकेर घर गए र प्रयोग गर्ने तरिका सिकाए । यो म र मेरो समुदायको लागि एकदमै नौलो थियो । त्यसपछि अहिलेसम्म म छोरा र छोरीलाई समान व्यवहार गर्दै आएको छु ।’
अर्का अभिभावक हुन विजय चौधरी उनले तालिममा बसेपछि बल्ल थाहा भयो बुबा हुनुको जिम्मेवारी, दिनभरी काम गरेर छोराछोरीको माग पुरा गरिदिनु मात्र नभई उनीहरुलाई गरिने समान व्यवहार र उनीहरुको मनको कुरा बुझ्ने साथी बन्नसकेको आफुलाई अनुभव भएको उनको भनाई छ ।
बर्दियाको विभिन्न ५ पालिकामा रहेका सामुदायिक विद्यालयमा २०–२० जनाको फादर ग्रुप निर्माण गरी किशोरी मैत्री बाताबरण तयार गर्नुको साथै बालविवाह अन्त्य गर्न, विभिन्न रचनात्मक गतिविधिमा सञ्चालन गर्नको लागि सहज भएको छ ।
प्लान ईन्टरनेशनलका उच्च स्तरीय टोलीका तर्फबाट क्वेली डेमियन (प्रमुख कार्यक्रम अधिकारी, ग्लोबल कार्यक्रम र संचालन समिति) लगायतका टोली सदस्यहरुले फादर सूमह, विद्यालय प्रशासन र सामुदायिक अगुवासंग अन्तरक्रिया गरेका थिए ।
उनीहरुले समुदायमा फादर समुह निर्माण पछिको परिवर्तन र व्यवहारले किशोरी शिक्षा, बालविवाह तथा बालबालिकाबीचमा हुने विभेदको अन्त्य भएको कुरा सुन्न पाउदा खुशी व्यक्त गरेका थिए । टोलीमा विभिन्न देशका नागरिकसहित प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय प्रबन्धक मिना पराजुली, साझेदार संस्था आरकेजेएस बर्दियाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बाह्रबर्दिया नगरपालिका वडानं. ५ का वडा अध्यक्षलगायतको सहभागिता रहेको थियो ।