गुलरिया (बर्दिया) : प्लान ईन्टरनेशनल नेपालको उच्चस्तरिय प्रतिनिधि मण्डलद्वारा बर्दिया विभिन्न साझेदार संस्थाहरुसंगको सहकार्यमा सञ्चालनमा रहेका कार्यक्रमहरुको स्थलगत अवलोकन गरेको छ । अवलोकनको क्रममा गुलरिया नगरपालिका वडानं.१२ मा समाज रुपान्त्रणका लागि क्रियाशिल किशोर किशोरीहरु ‘च्यापियन अफ चेन्ज’ अर्थात सिओसी गु्रपसंग अन्तरक्रिया समेत गरेको छ ।
सो अवसरमा सिओसी समुहकी सदस्यसमेत रहेकी सुस्मिता थारुले सिओसी समुहमा आवद्धता भएकै कारण आफुमा धेरै परिवर्तन आएको बताईन । उनले भनिन–‘म अहिले जुन अवस्थामा छु सबै देन सिओसी समुहमा आवद्ध भएपछिको परिवर्तन हो ।’ उनले आफ्नो विगत सम्झदै भनिन–‘म पहिला आफ्नो नाम भन्न सक्ने अवस्थामा थिईन, कसैसंग बोल्न पनि हिचकिचाउथे, अहिले निर्धक्क कुरा गर्न सक्ने भएकी छु । घर परिवारले पनि साथ दिएकोे छ ।’
सिओसी समुहका सदस्य चित्रबहादुर विकले आफुहरु सिओसीमा आवद्ध हुनु अघिसम्म गाउमा सानै उमेरमा विवाह गर्ने चलन रहेको सम्झदै भने–‘पहिला गाउमा सानै उमेरमा विवाह गर्ने चलन थियो । तर, अहिले भने त्यो चलन हटाउन सफल भएका छौ । सानैमा विवाह गर्दाको फाईदा बेफाईदाका बारेमा सिओसीमा आवद्ध भएर जान्ने मौका पायौ । अहिले हामी आफै सानैमा विवाह गर्न हुन्न भनेर गाउमा अभियान चलाएका छौं ।’
उनले सिओसीमा बसेर यौन तथा प्रजनन स्वास्थ्यका कुरा सिक्ने सिकाउने भएकोले पनि गाउमा टोलमा र वडाबाटै बालविवाह मुक्त गर्न आफुहरु सफल भएको बताए । अहिले उनीहरुको गाउँ टोल बालविवाह मुक्त भएकोमा आफुलाई गौरव हुने बताउछन् ।
सोही वडा कै अनिशा शेषले सिओसिको कारण आफुले पढ्न पाएको बताईन । मुस्लिम समुदायकी उनको परिवारमा सानै उमेरमा विवाह हुने चलनलाई हटाई आफुले आफ्नो परिवार र नातागोतालाई विहेवारी २० वर्षपारी भन्ने कुरा बुझाउन सकेको बताईन । उनले भनिन–‘ मैले सिओसीमा सिकेको कुरा दिदीलाई भने, दिदिले आमालाई भन्नुभयो, आमाले बुवालाई भनेर सम्झाएको कारण आज म यहाँ आउन सकेकी छु । नत्र मेरो पनि विवाह भई सकेको हुन्थ्यो । घुम्टोमा छोपिएकी अवस्थामा घरको एक कुनामा थन्केर बस्नु पथ्र्यो ।’
सोही वडा कै १८ वर्षिया आरती यादवका आमाबुवाले आफ्नो विवाह गर्ने कुरा गर्दै गर्दा आफ्नो काकाले बुवाआमालाई छोरीको विवाह गर्ने उमेर भएको छैन, दाईजो दिने पैसाले छोरीलाई पढाईदेउ भनेर सम्झाए कै कारण आफुले स्नातक तहमा पढ्न पाएको बताइन । उनी पनि सिओसी समूहकी सक्रिया सदस्य हुन । उनी अहिले आफ्नो समुदायको रोल मोडल बन्न सकेकी छन् ।
सिओसी समुहकै सन्ध्या थारुले सिओसी समूहका साथीहरुको व्यवहार परिवर्तन भएको कारण पहिला र अहिले धेरै नै फरक भएको बताईन । ‘पहिला बाटो हिड्दा पनि जिस्काउने साथीहरु अहिले भने जिस्काउन छोडेका छन् । हामीहरु मेन्सुरेशन भयौ भने पनि प्याड ल्याईदिने गरेका छन । हामीहरु पनि निर्धक्क आफ्नो समस्या उनीहरुसंग भन्न सक्ने भएका छौ ’ उनले भनिन ।
माथी उल्लेख भएका थारु, विक, शेष र यादव त सो वडाका प्रतिनिधि पात्रमात्र भएको उनीहरु जस्ता धेरै सिओसि समूहका सदस्यहरुको सक्रियताको कारण गुलरिया नगरपालिका वडानं. १२ नै बालविवाह मुक्त वडा घोषणा गर्न सफल भएको वडा अध्यक्ष रामकुमार थारुको भनाई छ ।
उनले बिग्रुप र सिओसी समूहको सक्रियताको कारण वडामा विभिन्न खालका सचेतनामुलक गतिविधि समेत सञ्चालन गर्न सहज भएको बताए । विषेशगरी बालविबाह न्यूनिकरणमा उनीहरुले खेलेको भूमिका प्रशंशा योग्य रहेको बताउदै परियोजनाको अपनत्व वडा पालिकाले पनि बहन गर्ने प्रतिबद्धता जनाए ।
सो अवसरमा प्लान ईन्टरनेशनलका उच्च स्तरीय टोलीका तर्फबाट क्वेली डेमियन (प्रमुख कार्यक्रम अधिकारी, ग्लोबल कार्यक्रम र संचालन समिति) लगायतका टोली सदस्यहरुले सिओसि समूहको गतिविधि, उनीहरुको निरन्तरता, बालविवाहको अवस्था, र आगामी कार्यदिशाका बारेमा अन्तरक्रिया गरेका थिए ।
उनले आफु र आफ्नो टोलीले समाज रुपान्त्रणको लागि सिओसी समुहले दिएको योगदानको उच्च मुल्याङ्कनका साथ लिएको बताए । साथै उनले परियोजना सकिएपछि पनि यसको अपनत्व स्थानीय सरकार वडा पालिकाले लिने प्रतिबद्धताप्रति आफुहरु आभारी भएको बताए ।
टोलीमा विभिन्न देशका नागरिक सहित प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय प्रबन्धक मिना पराजुली, साझेदार संस्था वि–ग्रुपका दिनेश चौधरीलगायतको सहभागिता रहेको थियो ।