राप्तीसोनारीले ल्यायो झन्डै ८६ करोडको बजेट :  कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार प्राथमिकतामा

सदरलाइन संवाददाता १२ असार २०८१, मंगलवार १८:५७
 

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिकाले पन्ध्रौ गाउसभा मार्फत नीति तथा कार्यक्रम र करिव ८६ करोडको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषा सिंह थारुले बजेट तथा कार्यक्रम प्रस्ततु गरेका थिए ।

राप्तीसोनारीले आगामी बजेट करिव ८६ करोड विनियोजन गरेको छ । यो चालू आर्थिक वर्षको भन्दा झन्डै तीन करोडले कम हो । उपाध्यक्ष थारुले आगामी आर्थिक वर्षका लागि ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट विनियोजन गरेको जानकारी दिइन् ।

उनले चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पूंजीगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको बताईन । उनका अनुसार शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार विनियोजन गरिएको छ ।

स्वास्थ्यतर्फ ७ करोड, ७२ लाख २० हजार, कृषितर्फ १ करोड ६० लाख २० हजार पशुतफए १ करोड २४ लाख २० हजार, महिला तर्फ २ करोड १ लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पंजीकरण तर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५८ लाख ६४ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी उद्यम विकासतर्फ १७ लाख, आवास कार्यक्रमतर्फ ३ करोड २ लाख, साझेदारी प्रवर्धन कोषका लागि २ लाख ५० हजार, स्वास्थ्य उपचार कोषका लागि २० लाख, सामाजिक विकास प्रर्वधन कोषका लागि २५ लाख र मर्मत संभार कोषका लागि २० लाख बजेट विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष पौडेलले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम निर्माण गरिएको बताए । उनले जग्गाको खण्डीकरण र बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक नीति निर्माण गरी कार्यान्वयन गरिने बताए ।

ऐलानी जग्गामा खेती गर्ने किसानहरुलाई कृषि सेवा सहुलियतको लागि उपयुक्त नीति निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेखछ । कृषि वीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक संजाल कार्यक्रम गर्ने, सामूहिक खेती संचालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधि मैत्री कार्यक्रम संचालन गर्ने, वडा नं.२, ७, ८ र ९ मा दुग्ध उत्पादन समूह गठन गर्ने र बाख्रा स्रोत केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमलाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।


कृषि तथा पशु विकास कार्यक्रममा दिइँदै आएको अनुदान वितरण प्रणालीलाई निरुत्साहित गर्दै गरिब परिवारले उत्पादन गरेका बस्तुहरु विक्री वितरण सहजीकरण गरिने पनि नीति तथा कार्यक्रमले समेटेको अध्यक्ष पौडेलले बताए ।

यसैगरी रोजगार बैंकको स्थापना गरि कामको खोजीमा रहेका बेरोजगार व्यक्तिहरुलाइए सूचीकरणमा समावेश गराई प्राथमिकताको आधारमा रोजगारी सिर्जनाका कार्यक्रमहरु संचालन गरि रोजगारीको न्युनतम अवसरमा संलग्न गराइने पनि उल्लेख छ ।

मुक्तकमलहरी, द्धन्द्धपीडित व्यक्तिहरुको तथ्यांकहरु संकलन गर्ने र आवश्यक पर्ने कानुनी प्रवन्ध गरि उनीहरुलाई कृषि, शिक्षा, स्वास्थ्य एवम् शसक्तिकरण र आयआर्जनको क्षेत्रमा पहुँच अभिवृद्धि गरिने छ । पालिकाले आगामी आर्थिक वर्षमा शिक्षक दरवन्दी मिलान तथा पुनःवितरण गर्दै १० वर्षे गाउँ शिक्षा योजना निर्माण गरि कार्यान्वयनमा ल्याउने भएको छ ।

त्यसैगरी विद्यालयमा टिनको छानो विस्थापित गरि वातावरण अनुकूल तथा विद्यार्थीमैत्री बनाउने कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । यसैगरी राप्तीसोनारी वडा नं.८ मा २४ संै घण्टा वर्थिङ सेवा संचालन गरिने भएको छ ।

प्रयोगशाला नभएका स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय प्रविधिमैत्री प्रयोगशाला संचालन गरिने, जेष्ठ नागरिक, असाहय शारीरिक अशक्त तथा दीर्घरोगीहरुका लागि गाउँपालिका अध्यक्षसँग विशेषज्ञ स्वास्थ्य शिविर संचालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेखछ । यसैगरी पूर्वाधार विकासमा पनि नीति तथा कार्यक्रमले जोड दिएको छ ।

गाउँपालिका स्तरीय सडक तथा यातायात गुरुयोजना अनुसार सडक नालीको निर्माण र मर्मत सम्भार गर्ने, सडक संजाल विस्तार र स्तरोन्नतीका लागि संघ प्रदेश सरकारसँग आवश्यक समन्वय गर्नुका साथै कार्यक्रम संचालन गरिने, अत्यावश्यक स्थानमा पुलपुलेसा र कल्भर्ट निर्माणलाई निरन्तरता दिइने विषयलाई पनि नीति तथा कार्यक्रमले समेटेको छ ।

गाउँसभाको सोमवारको बैठकमा वडा नं.६ का वडाअध्यक्ष लवराज खरेल, वडा नं.७ का वडाअध्यक्ष रामलखन थारु र वडा ९ का वडाअध्यक्ष सोहनलाल थारुले आआफ्नो मन्तव्य राखेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताए । नीति तथा कार्यक्रम र बजेट माथि आगामी १४ गते बस्ने बैठकमा दफावर छलफल हुने प्रमुख प्रशासकीय अधिकृत एडीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको १६औं गाउँसभाद्वारा नीति तथा कार्यक्रम पारित

१२ असार २०८१, मंगलवार १८:५७
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१।०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, नीति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो । संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ […]

सम्बन्धित