एक हजार बढी खाद्य नमुना विश्लेषण

सदरलाइन संवाददाता ९ माघ २०८०, मंगलवार १७:४३
 

धनगढी : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले छ महिनाको अवधिमा सुदूरपश्चिम प्रदेशमा एक हजार १५३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरेको छ ।

सो कार्यालयले प्रगति विवरण सार्वजनिक गर्दै छ महिनाको अवधिमा सो सङ्ख्यामा आद्य तथा दाना नमुनाको विश्लेषण गरेको जनाएको हो । दोस्रो त्रैमासिकमामात्रै खाद्य तथा दाना अनुज्ञापत्र जारी तथा नवीकरणका लागि सङ्कलित १२७, अनुरोध भई आएका १६, बजार अनुगमनबाट सङ्कलित २० र अनुसन्धानात्मक १२४ गरी जम्मा २८७ नमुना विश्लेषण गरेको प्रमुख हरिसिंह बोहराले जानकारी दिए ।

यस्तै, आधा वर्षको अवधिमा खाद्यले १० वटा प्रतिकूल नमुना उपर मुद्दा दायर गरेको छ । कैलालीमा दुई, कञ्चनपुरमा पाँच, कैलाली जिल्ला अदालतमा दुई र कञ्चनपुर जिल्ला अदालतमा एक वटा मुद्दा दायर गरेको जनाइएको छ ।


दोस्रो त्रैमासिकमा खाद्यले ५९ पटक खाद्य बजार, ३८ पटक खाद्य उद्योग र ४६ पटक होटल रेस्टुरेन्ट अनुगमन गरेको छ । यसैगरी, छ महिनाको अवधिमा १४७ वटा खाद्य तथा दाना नमुना सङ्कलन गरिएको छ ।

चालु आर्थिक वर्षको हालसम्म खाद्यले नमुना विश्लेषण दस्तुर तथा अनुज्ञापत्र जारी, नवीकरण र सिफारिस दस्तुर बाफत दुई लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । खाद्य स्वच्छता कायमका लागि प्रयोगशाला परीक्षण आवश्यक रहेको प्रमुख बोहराले बताए । यद्यपि, भौतिक संरचनाको अभावका कारण प्रयोगशालामा नमुना परीक्षणमा समस्या भइरहेको उनले उल्लेख गरे ।

चाउमिन, चिकेन राइस लगायतका खानेकुरामा अत्यधिक रङ्गको प्रयोग हुने गरेको देखिएकोले त्यसरी रङ्गको प्रयोग गर्ने कार्य रोक्नमा सरोकारवालाले ध्यान दिनु पर्ने उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिमका सचिव भोजराज जोशीले जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

क्यान्सर पीडित शर्मालाई आर्थिक सहयोग

९ माघ २०८०, मंगलवार १७:४३
नेपालगञ्ज : बाँकेका एक जना क्यान्सर पीडितलाई आर्थिक सहयोग उपलब्ध गराइएको छ । नेपालगञ्ज–४ बसपार्क निवासी ५८ वर्षिय गोपाल शर्मा विगत डेढ वर्षदेखि क्यान्सर रोगबाट पिडित भई अहिले खजुरा क्यान्सर अस्पतालमा उपचार गराई रहेका छन् । उनको आर्थिक अवस्था कमजोर भएर उपचारमा समस्या भएपछि आर्थिक सहयोग गरिएको प्रदान गरिएको हो […]