नेपाल–भारत सुरक्षा अधिकारीको समन्वय बैठक

सदरलाइन संवाददाता २० चैत्र २०८०, मंगलवार १७:११
 

नेपालगञ्ज : सीमा क्षेत्रका समस्या तथा अपराधिक गतिविधि नियन्त्रणका लागि नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक भारतमा सम्पन्न भएको छ ।

भारतमा हुन लागेको लोकसभाको निर्वाचनलाई लक्षित गरेर सीमा नाकामा विभिन्न सुरक्षा रणनीति र योजना बनाउन समन्वय बैठक आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

उनले सो बैठकमा नेपाल तर्फबाट आफू लगायत बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोरा, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसी सहभागी भएको जानकारी दिए । बैठकमा बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा अधिकारी भर्चुअल माध्यमबाट सहभागी भएको उनको भनाइ छ ।


भारततर्फबाट बैठकमा देवीपाटन मण्डल गोण्डाका डिआइजी अमरेन्द्र प्रतापसिंह, एसएसबीका डिआइजी जेडी वशिष्ठ, बहराईचका डिएम मोनिका रानी, एसपी बृन्दा शुक्लासहित लखिमपुर, बलरामपुर र श्रावस्ती जिल्लाका डिएम र एसपीसहितको सहभागिता थियो ।

बैठकमा भारतमा चरणबद्ध रूपमा यो महिनाबाट हुन लागेको लोकसभाको निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न दुवै देशको सीमावर्ती क्षेत्रबाट सिर्जना हुनसक्ने सुरक्षा चुनौतीलाई संयुक्त सुरक्षा रणनीति एवम् कारबाहीबाट व्यवस्थापन गर्ने निर्णय भएको बाँकेका प्रजिअ पोखरेलले जानकारी दिए ।

बैठकमा नेपाल र भारत दुवै देका सुरक्षा अधिकारीहरूले आ–आफ्नो जिल्लाको नाकाको सुरक्षा अवस्था विस्तृत रूपमा जानकारी गराउनुका साथै आगामी दिनमा समन्वय र सहकार्य गरेर गर्नुपर्ने कार्यका बारेमा सुझाव समेत प्रस्तुत गरेका थिए ।

खुला सिमानाका कारण दुबैतर्फ विभिन्न प्रकारका आपराधिक गतिविधि एवं माल सामान ओसार पसार हुने गरेको र अन्य गैरकानुनी कामसमेत हुने गरेको ठहर गर्दै बैठकमा नाकामा समन्वय र सहकार्य गर्दै सुरक्षा कडाइ झन् बढाउँदै जाने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नाङ्गो दर्पण

२० चैत्र २०८०, मंगलवार १७:११
विमल हमाल ‘युरेनस , मुगु हरेक उज्यालो दिनलाई निशा सम्झने भ्रमका आखेटकहरु सधै–सधै चित्रण गर्छन, फगत लहरीमा । ज्वाजल्यमान झै बनेर समुहको एउटा नाङ्गो सपनामा सधै देखाउछन, बैभब भिडको तमासा नाचेर उदण्ड चित्र । भन्छन, कला मेरो, झुक्याउछ, दोस्रो झुण्डको, तेस्रो बिचित्र खेल छिन–छिनमा रुपान्तरिणत रे, कतै समुह त,कतै झुण्डमा […]