राप्तीसोनारीस्थित सिद्धेश्वर माविमा स्वास्थ्य परामर्श

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १८:२८
 

नेपालगञ्ज : बाँकेको सुदूरपूर्वमा पर्ने राप्तीसोनारी गाउँपालिका–१ लौकीमा रहेको सिद्धेश्वर महादेव माध्यामिक बिद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई स्वास्थ्य सम्वन्धी सचेतना फैलाउने काम गरिएको छ ।

केही दिन अघि उक्त विद्यालयमा अध्ययनरत छात्रामा चिच्याउने, बर्बराउने, अर्धअचेत हुने लगायतका लक्षणहरु देखिएको पाइएपछि नेपालगञ्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलको चिकित्सक टोलिले विद्यालयमा पुगेर विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै उक्त रोगबारे सचेतना फैलाउने काम गरेको हो ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा.जोशन न्यौपानेले एक किसिमको मानसिक रोगका कारण यस्तो समस्या निम्तिने गरेको बताए । अत्याधिक तनावका कारण विद्यार्थीहरुमा यस्तो समस्या देखिन सक्ने भन्दै उनले यो विस्तारै आफै ठिक भएर जाने रोग भएकाले तनाव व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।

मानसिक तनावलाई व्यक्त गर्न वा समस्या समाधान गर्न नसक्दा छात्राहरुमा लक्षणको रुपमा कराउने बेहोस हुने, रुने चिच्याउने गर्छन उनले भने–कन्भर्सन डिसअर्डरको मुख्य कारण तनाव हो । उनले गाउँघरमा यस्ता खाले समस्या देखिए धामी झाक्री कहाँ पुग्ने गरेको पाइएको भन्दै समस्याको पहिचान गरेर उपचारतर्फ ध्यान दिन सुझाव दिए ।


उनले यस्तो समस्या देखिएपछि बालबालिकाहरुलाई तनाव व्यवस्थापनतर्फ अभिभावक तथा शिक्षकहरुले ध्यान दिनुपर्ने सुझाव पनि दिए । राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बिद्यालयमै आएर बिद्यार्थीको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै परामर्श सेवा प्रदान गरेकोमा चिकित्सक टोलिलाई धन्यवाद दिए । उनले पालिकाले स्वास्थ्य सेवामा सबैको पहुँच हुने गरी काम गरिरहेको बताए ।

उनले न्यूरो अस्पतालसँग स्वास्थ्यका क्षेत्रमा संस्थागत सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता समेत जनाए । अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा पुगेर निःशुल्करुपमा विद्यार्थीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिँदै परामर्श सेवा दिएको नेपालगञ्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलका फार्मेसी इन्चार्ज दिनेश विष्टले बताए ।

वडाध्यक्ष यमबहादुर खड्का, प्रधानाध्यापक आदित्य जिसी लगायतले विशेषज्ञ चिकित्सकसहितको टोलि विद्यालयमै आएर विद्यार्थीको स्वास्थ्य अवस्थासँगै विद्यार्थी, अभिभावक, शिक्षकलाई रोगबारे सचेतना फैलाउने काम गरेको भन्दै धन्यवाद दिए । गएको शुक्रबार कक्षा ७ मा अध्ययनरत एक जना छात्रामा उक्त प्रकृतिको लक्षण देखिएको थियो ।

त्यसपछि आइतवार फेरी कक्षा ७ मा अध्ययनरत थप ३ जना र कक्षा १० मा अध्ययनरत एक जना छात्रामा उही प्रकृतिको लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक आदित्य जिसीले बताए । उक्त कार्यक्रममा कक्षा ७, ८, ९ र १० का विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि, स्थानीयबासी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु सरकारको पहिलो प्राथमिकता’

९ फाल्गुन २०८०, बुधबार १८:२८
नेपालगञ्ज : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ’प्रकाश’ ले सुशासन र शान्ति सुव्यवस्था कायम गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । नेपालगञ्जमा बिहीवारदेखि शुरु भएको दुई दिने लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले अपराध नियन्त्रणका लागि सरकार शून्य सहनशीलताका साथ अघि बढेको बताए । गृहमन्त्री श्रेष्ठले सुशासन, सामाजिक […]

सम्बन्धित