कृषिलाई व्यावसायिक बनाउँदै राप्तीसोनारी

सदरलाइन संवाददाता ९ फाल्गुन २०८०, बुधबार १७:३९
 

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका कृषि उपज उत्पादनका लागि पकेट क्षेत्रकै रुपमा परिचित रहेको छ । ९ वटा वडा रहेको राप्ती सोनारी गाउँपालिकाका सबै वडा कृषि उपज उत्पादनका दृष्टिकोणले सम्भावना बोकेका वडाहरु हुन् । त्यसैले पनि पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेल बताउँछन् ।

उनका अनुसार राप्ती सोनारी गाउँपालिका अन्न उत्पादनका दृष्टिकोणले मात्र नभएर पशुपालनका क्षेत्रमा पनि उत्तिकै अब्बल र सम्भावनायुक्त पालिका हो । बाख्रा पालनका हिसावले वडा नं.१, २, ८ र ९ पकेट एरिया नै हुन् । गाई र भैसी पालनका हिसावले पनि यी क्षेत्र अनुकूल रहेको उनको भनाइ छ । ‘मासुजन्य र दुग्धजन्य बस्तुको उत्पादनका दृष्टिकोणले यहाँ पर्याप्त सम्भावन छ उनी भन्छन्–‘राप्ती पारीको भुगोलमा धान, गहुँ, मकै राम्रो उत्पादन भइरहेको छ ।’

त्यही भएर पालिकाले व्यवसायिक किसान बनाउनका निमित्त अनुदानका कार्यक्रमहरुलाई प्रभावकारी गराउँदै लगेको उनको भनाइ छ । ‘कृषि तथा पशुपंछीका लागि चालू आर्थिक वर्षमा मात्रै २ करोड २० लाख बजेट विनियोजन गरिएको छ उनले भने–‘वीउविजन, कृषि उपकरण तथा पशुपालनका लागि पनि अनुदानको व्यवस्था स्थानीय सरकारले गरेको छ ।’ पालिकाले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने गरी नीति तथा कार्यक्रममै जोड दिइएको उनको भनाइ छ । कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यवसायीकरण गर्ने पालिकाको नीति रहेको उनले सुनाए ।

कृषकलाई मल, बीउ, कृषि सामाग्री, सिंचाइँ मिटर वितरण लगायतका कार्यक्रम भइरहेको कृषि शाखा प्रमुख चन्द्र कमारी शाहीले बताइन् । उनले चालू आर्थिक वर्षको ६ महिनामा २५ प्रतिशत प्रगति हासिल शाखाले गरेको पनि जानकारी दिइन् । चालू आर्थिक वर्षका लागि बसन्ते मकै खेतीका लागि कृषि ज्ञान केन्द्रसँगको सहकार्यमा पालिकाले साढे १८ क्विन्टल मकैको वीउ वितरण गरिएको छ । वडा नं.९ मा ३० किलो, वडा नं.८ मा ६ क्विन्टल, वडा नं.३ मा ५ क्विन्टल र वडा नं.२ मा ७ क्विन्टल रामपुर हाइब्रेड र अरुण २ जातको मकैको वीउ वितरण गरिएको कृषि विकास शाखाका नायव प्राविधिक सहायक खड्क खत्रीले जानकारी दिए ।


उनका अनुसार राप्ती सोनारी गाउँपालिका वडा नं.२ स्थित सिर्जनशील दलित कृषक समूहलाई मकै पकेट कार्यक्रमलाई निरन्तरता पनि दिएको छ । पालिकाले मसुरो र गहुँको वीउ वितरण कार्यक्रम पनि सम्पन्न गरिसकेको उनले जानकारी दिए । मसला खेती प्रवर्धनका लागि ५० प्रतिशत अनुदानमा तरकारीको वीउ तथा प्लाष्टिक मलचिङ वितरणको तयारीमा पालिका छ । वडा नं.५ को ललै र वडा नं.१ को जरुपवामा वगर खेतीको लागि अन्तिम तयारी भइरहेको पनि उनले सुनाए ।

यसैगरी वडा नं.९ र ५ मा कम्पोष्ट तथा गड्यौला कार्यक्रम कार्यान्वयनको तयारी पनि अन्तिम चरणमा पुगेको छ । राप्ती सोनारी गाउँपालिकाका ९ वटै वडामा माटो परीक्षण शिविर संचालन गर्ने कार्यक्रम पनि यो चालू आर्थिक वर्षका लागि तयार पारिएको छ । आर्थिक वर्ष ०७९÷८० मा पालिकाले कृषि विकास तथा धान प्रर्वधन कार्यक्रम १, मकै पकेट क्षेत्र २, धान पकेट १, तरकारी ब्लक कार्यक्रम १, मकै ब्लक कार्यक्रम १, च्याउ पकेट कार्यक्रम १ र पुष्प प्रवर्धन कार्यक्रम १ वटा संचालन गरेको थियो ।

त्यसैगरी धानको वीउ १ हजार ६० क्विन्टल, गहुँको वीउ ४४२ क्विन्टल, फलपूmलको विरुवा १२ हजार, च्याउको वीउ ८ हजार प्याकेट वितरण गरिएको शाखा प्रमुख शाहीले जानकारी दिइन् । यसैगरी मेशीनरी औजार तर्फ बोरिङ ४० वटा, पम्पसेट २५ वटा, मोटर २०७ वटा, पावर टेलर २२ एचपी १५ वटा, मिनी टेलर ७ वटा वितरण गरिएको थियो । स्प्रे ट्यांकी ५० वटा, इ रिक्सा १ वटा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अदालतको आदेशविपरीत लगदहवा चोकमा ड्रम राखियो

९ फाल्गुन २०८०, बुधबार १७:३९
नेपालगञ्ज : उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासको आदेशविपरीत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज–१८ लगदहवा चोकको सडकमा ड्रम राखिएको छ । बढ्दो सहरीकरणसँगै सडक दुर्घटनाको जोखिम हुन सक्ने भन्दै जिल्ला ट्राफिक प्रहरीले अदालतको आदेशविपरीत उक्त ड्रम राखेको हो । सडक दुर्घटना न्यूनीकरण गर्ने अन्य उपाय हुँदाहुँदै सर्वसाधारणको आवागमनलाई असहजता ल्याउने […]