नेपालगञ्ज–जनकपुर उडानको हवाई भाडा तोकियो

सदरलाइन संवाददाता ३ फाल्गुन २०८०, बिहीबार १७:२७
 

नेपालगञ्ज : मधेश प्रदेशको राजधानी जनकपुर र लुम्बिनी प्रदेशको प्रमुख सहर नेपालगञ्जलाई जोड्ने उद्देश्यले शुरु गर्न लागिएको प्रवर्धनात्मक हवाइ उडानको नयाँ भाडा निर्धारण गरिएको छ ।

फागुन ५ गते र ७ गते यति एअरलाइन्सले गर्न थालेको हवाई उडानको एकतर्फी भाडा आठ हजार ५०० निर्धारण गरिएको यति एअरलाइन्स नेपालगञ्जले जनाएको छ ।

यति एयरलाइन्स नेपालगञ्जका प्रमुख दिलिप कार्कीले नाट्टा बाँके च्याप्टरको आग्रहमा देशका दुई ऐतिहासिक सहरविच धार्मिक सम्बन्ध कायम गर्ने उद्देश्यले फागुन ५ गते शनिबार र ७ गते सोमवार गरिने उडानको एकतर्फी भाडा हाललाई आठ हजार ५०० निर्धारण गरिएको बताए ।

उनले अहिले प्रवद्र्धनात्मक उडान गरिने र यात्रुको चाप, माग र अवस्थालाई हेरेर नियमित उडानबारे थप निर्णय गरिने बताए । नेपाल एसोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टर र नाट्टा मधेस प्रदेशको संयोजनमा यति एयरलाइन्सले गर्ने दुई वटा प्रवर्धनात्मक उडानका लागि एकतर्फी भाडा निर्धारण गरेकाले सोही बमोजिम गरिने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।


उनले यो उडानलाई लिएर नेपालगञ्ज र जनकपुर दुबै ठाउँमा एक बेग्लै प्रकारको उत्साह देखिएकाले उडान सफल हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज–जनकपुर हवाई उडानले यस क्षेत्रको धार्मिक पर्यटनको विकासमा ठुलो मद्दत गर्ने जनाउँदै यसले पश्चिमदेखि पूर्वलाई सोझै जोड्ने काम पनि गर्नेभएकाले महत्वपुर्ण रहेको बताए ।

शनिबार र सोमवार दिउँसो १ः४० बजेतिर यति एअरलाइन्सले ७२ जना यात्रु लिएर नेपालगञ्जबाट उडान भर्ने र जनकपुरबाट ३ः२५ बजे फिर्ता उडान भर्ने कार्यक्रम तय गरिएको छ । सो उडान एक घण्टा ३० मिनेटको हुने जनाइएको छ ।

नेपालगञ्ज–जनकपुर र जनकपुर–नेपालगञ्ज हवाई उडानमा धार्मिक पर्यटकहरु, नेपालगञ्जमा रहेका मिथिलाबासी, जनकपुरमा रहेका पश्चिमवासी, सन्त महन्त, पर्यटनकर्मी लगायत सहभागी रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउनसुगरसहित एक जना पक्राउ

३ फाल्गुन २०८०, बिहीबार १७:२७
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ सय मिलिग्रामसहित सुर्खेत बिरेन्द्रनगर नगरपालिका–२ बस्ने २८ वर्षीय गणेश चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहा बाँके र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित […]