नेपालगञ्ज : केही दिनयता देशभर जाडो बढेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भएका कारण देशभरको तापक्रम घटेको मौसमविद मिनकुमार अर्यालले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाको तथ्याकं अनुसार शनिवार जोमसोममा सबैभन्दा कम न्यूनतम तापक्रम मापन भएको छ । त्यहाँको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ ।
त्यस्तै जुम्लामा माइनस ५.२ डिग्री सेल्सियस र जिरीमा माइन १.६ डिग्री सेल्सियम न्यूनतम तापक्रम छ ।
काठमाडौंमा पनि बिहानको समयमा अत्यधिक चिसो महसुस गरिएको छ । काठमाडौंको न्यूनतम तापक्रम शनिवार ३ डिग्री सेल्सियस पुगेको महाशाखाले जनाएको छ । अधिकतम तापक्रम १७ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ ।
नेपालगञ्जको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १४.३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान छ । पानी परेको खण्डमा चिसो स्वतः बढ्छ । तर तत्काल ठूलो वर्षा गराउने प्रणालीको विकास भइनसकेको मौसमविद अर्यालले जानकारी दिए ।
अघिल्लो वर्ष यतिबेलासम्म हिउँदे वर्षा गराउने दुइतीन वटै प्रणाली भित्रिसकेकोमा यसपालि ढिला भएको उनले बताए ।
‘अघिल्लो वर्ष यतिबेलासम्म दुई/तीन वटै प्रणाली भित्रिसकेका थिए। मंसिर, पुस, माघ महिनामा कम्तिमा पनि महिनैपिच्छे १५ मिलिमिटर वर्षा हुनुपर्ने हो,’ उनले भने ।
हिउँदे वर्षा हुने अवधि अझै एक महिना बाँकी रहेकाले त्यतिबेलासम्म पानी पर्नसक्ने उनले बताए ।