खजुरा (बाँके) : कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा आगलागी हुँदा ६२ वटा बाख्रा आगोमा जलेर मरेको छ । बाँकेको जानकीमा रहेको लुम्बिनी प्रदेशको बाख्रा अनुसन्धान इकाईमा मध्यराती आगलागी हुँदा इकाईमा रहेका मध्य ६२ वटा बाख्रा मरेको हो ।
विद्युत सर्ट भएर बाख्रा अनुसन्धान इकाईमा आगलागी भएको थियो । बाख्रा अनुसन्धान इकाईको खोर नम्बर १ मा ८३ वटा बाख्रा रहेका मध्ये २८ वटा ठूला र ३४ वटा पाठापाठी मरेको बाँके प्रहरीले जनाएको छ । २१ वटा बाख्रालाई उद्धार गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।
प्रहरीका अनुसार स्थानीयवासी र त्यहाँका कर्मचारीले विहान ६ बजे आगो निभाएका थिए । जिउँदा बाख्राको उद्धार समेत स्थानीय र कर्मचारीहरुले गरेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको डीएसपी नारायण डाँगीले बताए ।