बिरामी डिस्चार्ज भएपछि भेरीको डिजास्टर वार्ड खाली

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १६:०४
 

नेपालगञ्ज : जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भई नेपालगञ्जस्थ्ति भेरी अस्पतालमा उपचारका लागि ल्याइएका बिरामी निको भएर डिस्चार्ज भएपछि डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहज होस् भनेर उहाँहरुको मात्र उपचारका लागि अस्पतालभित्र अलग्गै ‘डिजास्टर वार्ड’ तयार पारिएको थियो । बिरामी निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि उक्त वार्ड खाली गराइएकोे जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

अब बाँकी उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचार गरिरहेको श्रेष्ठले बताए ।

सोमबार मात्र दुई जना बिरामी निको भएर डिस्चार्ज भएर घर फर्केको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । सोमबार रुकुमपश्चिम्का १० वर्षीय बालक जगदिश दमाई र जाजरकोटका ४८ वर्षीय विमलकुमार कार्की डिस्चार्ज भएको उनले बताए ।


सोमवार डिस्चार्ज भएका जाजरकोटका विमलकुमार कार्की भूकम्पका कारण घाइते भई उपचारका लागि ल्याइनुभएका पहिलो बिरामी रहनुभएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । घाइते कार्कीलाई कात्तिक १८ गते विहान ९ बजे उपचारका लागि भेरी अस्पतालको इमर्जेन्सी वार्डमा ल्याइएको थियो ।

आइतबार पनि अस्पतालबाट उपचारपश्चात निको भई थप ६ जना घाइते विरामी डिस्चार्ज भएर आफनो घरतर्फ प्रस्थान गरेका थिए । आइतबार जाजरकोटका चारजना र रुकुमपश्चिम्का दुई जना गरी ६ जना भूकम्पका घाइते बिरामीहरु उपचारपश्चात् निको भई डिस्चार्ज भएर घर गएको श्रेष्ठले बताए । उनका अनुसार दुई जना पुरुष र चार जना महिला आइतबार डिस्चार्ज भएका हुन् ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइनुभएका ५८ जनामध्ये यसअघि ४६ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । सोमवारसमेत गरी ४८ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् । अब भेरी अस्पतालमा ६ जना मात्र बिरामी उपचाररत रहेको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मंगलवारदेखि नेपाल संवत् ११४४ शुरु

२७ कार्तिक २०८०, सोमबार १६:०४
नेपालगञ्ज : मंगलवारदेखि नेपाल संवत् ११४४ शुरु भएको छ । मंगलवार देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले वि.सं. ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेका थिए । नेपाल संवतले […]