बाँकेमा छोटी भन्सार पुनर्स्थापना गर्न प्रधानमन्त्रीसँग माग

सदरलाइन संवाददाता २७ कार्तिक २०८०, सोमबार १४:०२
 

नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएर सशस्त्र द्वन्द्वको समयमा बन्द गरिएका बाँकेका छोटी भन्सार पुनः सञ्चालन गर्न माग गरेको छ ।

रोल्पाबाट फर्किनेक्रममा शुक्रबार साँझ नेपालगञ्ज पुगेका प्रधानमन्त्रीलाई उद्योग वाणिज्य सङ्घको एक प्रतिनिधिमण्डलले भेटेर ज्ञापनपत्र बुझाउँदै छोटी भन्सार पुनर्स्थापनालगायत तस्करी रोक्न निर्देशन दिन माग गरेको हो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सङ्घका अध्यक्ष टङ्क धामीको नेतृत्वमा रहेको पदाधिकारीको टोलीले प्रधानमन्त्रीलाई भेटेर दुई पृष्ठको ज्ञापनपत्र बुझाएको बताए ।


ज्ञापनपत्रमा सीमापारिबाट हुँदैआएको अवैध आयात र तस्करीले गर्दा नेपालगञ्जको व्यापार व्यवसाय धराशायी भएको जनाउँदै सो रोक्न सम्बन्धित निकायलाई कडा निर्देशन दिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष ओलीका अनुसार ज्ञापनपत्रमा सशस्त्र युद्धका बेला बन्द गरिएका बाँकेका सातवटा छोटी भन्सार तत्काल पुनर्स्थापना गर्नुपर्ने, जमुनाहा नाकामा रहेको स्क्यानर मेसिन बिग्रिएकोले तत्काल सोको मर्मत गराउनुपर्ने, नाकाबाट आवागमन गर्नेको परिचयपत्र हेरेर मात्र आवागमन गर्न दिनुपर्ने, सीमा नाका नजिकै धेरै नाकाहरू रहेकाले सबै ठाउँमा सुरक्षा निकाय खटाउनुपर्ने लगायतका माग गरिएका छन् ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका मागलाई गम्भीरतापूर्वक लिएको जनाउँदै काठमाण्डौ पुगेर सम्बन्धित मन्त्रीसँग छलफल गरेर नाकामा देखिएका कमीकमजोरी र छोटी भन्सार पुनर्स्थापनाबारे निर्णय लिने बताएको वरिष्ठ उपाध्यक्ष ओलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

२७ कार्तिक २०८०, सोमबार १४:०२
बर्दिया : बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । […]