दसैंको पाँचौ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

सदरलाइन संवाददाता २ कार्तिक २०८०, बिहीबार १३:०९
 

नेपालगञ्ज : नवरात्रको पाँचौं दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन सोमबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो । चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् ।


पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । कुनै समय शिव र पार्वती ऋषिहरुका सभामा जाँदा सबैले उठेर स्वागत गरे । ऋषि सनतकुमार ध्यानमा मग्न भएकाले उठेनन् । यो पार्वतीलाई मन परेन । पार्वतीले ऋषिलाई ‘तिमी ऊँट बन’ भनी श्राप दिइन् । ऋषि ऊँट बने । शिवले पार्वतीलाई ‘ज्ञानीलाई कुनै श्रापले स्पर्श गर्न सक्दैन, यसैले ऊँटका योनिमा पनि आफ्नो ब्रह्मस्वरुप ज्ञानले आनन्दमा मस्त छन्’ भनी दुवै दम्पती ऊँटधारी सनतकुमारलाई हेर्न गएछन् ।

पार्वतीले ऋषिलाई ऊँटको योनीमा कस्तो अनुभव हुन्छ भनी सोद्धा ऋषिले ‘मलाई हजुरले ऊँटको योनी प्रदान गरेर ठूलो अनुग्रह गर्नुभयो’ ‘भोक लागेका बेला जङ्गलका काँडाहरु चपाउँछु र आनन्दसँग ब्रह्मचिन्तन गरेर बस्छु, मलाई यस योनीमा कुनै पनि कष्टको अनुभव छैन’ भनी उत्तर दिएछन् ।

ऋषिको कुराबाट पार्वती प्रभावित हुँदै भनिछन् ‘ऋषिजी तपाइँ ज्यादै ठूलो ब्रह्मज्ञानी हुनुहुँदो रहेछ, यहाँको महत्व नबुझी मैले दिएको श्रापबाट मलाइ ठूलो पश्चात्ताप छ, अब म तपाइँलाई पुत्रका रुपमा प्राप्त गर्न चाहन्छु’ पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

किसानका समस्या पहिचान गर्दै कृषि अनुसन्धान केन्द्र

२ कार्तिक २०८०, बिहीबार १३:०९
नेपालगञ्ज : लुम्बिनी प्रदेशमा कृषि अनुसन्धानका लागि प्रमुख सरकारी निकायको रुपमा रहेको बाके खजुरास्थित कृषि अनुसन्धान निर्देशनालयले राप्तीसोनारी गाउँपालिका–६ टेपरीमा गाउँस्तरीय योजना बैठक सम्पन्न गरेको छ । अनुसन्धान परियोजना निर्माणका लागि कृषकहरुका समस्या पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम निर्देशनालयका वैज्ञानिक जगन्नाथ बन्जाडेको अध्यक्षता एवं राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त […]