कार्यसम्पादन मूल्यांकनमा बाँकेको नरैनापुर देशकै उत्कृष्ट

सदरलाइन संवाददाता ६ फाल्गुन २०७९, शनिबार १३:३८
 

नेपालगञ्ज : देशभरका सात सय ५३ स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा बाँके जिल्लाको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट बन्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले यही फागनु ३ गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजाअनुसार उक्त गाउँपालिका देशकै पहिलो बन्न सफल भएको हो ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ को अधीनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकका आधारमा गरेको मूल्यांकन अंक प्रदान गरिएको थियो । कार्यसम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ ।

दोस्रो बनेको प्यूठानको प्यूठान नगरपालिकाले ७७ दशमलव २६१४ अंक प्राप्त गरेको छ । तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक प्राप्त गरेको थियो । कार्यसम्पादनमा नरैनापुर गाउँपालिकालाई उत्कृष्ट भएको खबरले हर्षित बनाएको उक्त गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

‘दुई महिनादेखि बिरामी भएकाले मलाई यो खबर थाहा थिएन । यहाँहरुको सूचनाबाट थाहा पाएँ’, उनले भने, ‘जनप्रतिनिधि र कर्मचारीको कामप्रतिको यथेष्ट लगावले आज नरैनापुर देशकै उत्कृष्ट भएको हुन सक्छ ।’ लुम्बिनी प्रदेशको बाँकेमा पर्ने उक्त गाउँपालिका आर्थिक, सामाजिक, सांस्कृतिक र वातावरणीय हिसाबले अत्यन्तै जोखिम र सुक्खाग्रस्त मानिन्छ ।


मुस्लिम र हिन्दू बाहुल्यता भएको सो गाउँपालिकामा गरिबी, अशिक्षा र परम्परागत कुसंस्कार पनि विद्यमान रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । प्राकृतिक विपत्ति खासगरी खडेरीले यहाँको कृषि उत्पादनमा समस्या आएको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए । उक्त गाउँपालिकाका लेखपाल प्रकाश अधिकारीले काममा अहोरात्र खटेअनुसार सुखद खबर सुन्न पाइएको बताए ।

उनले भने, ‘गत आर्थिक वर्ष बेरुजु आउने पालिकाकामध्येमा हामी जिल्लामै राम्रो देखियौँ । पछिल्लो समयमा अस्पताल जाने सुत्केरी सङ्ख्या ह्वात्तै बढेको छ । घरमा सुत्केरी हुने सङ्ख्या कम रहेको छ ।’

विद्यालयमा विद्यार्थी भर्नादर पनि उच्चरुपले बढेको लेखापाल अधिकारी जनाए । उनका अनुसार आव ०७८/७९ मा नरैनापुर गाउँपालिकाले ९२ प्रतिशत पूँजीगत खर्च गरेको थियो ।

पूर्णखोप सुनिश्चित गाउँपालिका घोषित भएर त्यसको दिगो विकास कार्यक्रम सञ्चालन पनि भइरहेका छन् । राति अबेरसम्म नियमित खटेर काम गर्दा सफलता पाइँदोरहेछ भन्ने कुरा यो नतिजाले देखाएको देशमै पहिलो भएको खबरले हर्षित तुल्याएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘अधुरा योजना सरकारको प्राथमिकतामा’

६ फाल्गुन २०७९, शनिबार १३:३८
नेपालगञ्ज : उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अधुरा छोडिएका तथा अलपत्र पारिएका योजना वर्तमान सरकारको प्रमुख प्राथमिकतामा परेको बताएका छन् । राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणका लागि शुक्रबार बाँके पुग्नुभएका उपप्रधानमन्त्री श्रेष्ठले नेपालगञ्ज र खजुरामा आयोजना गरिएका स्वागत कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठको स्वागतमा नेकपा […]