नेपालगञ्ज : गत असोज ४ गते राती १० बजे बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपको फाईदा उठाउदै सुधार गृहबाट फरार रहेका एक बालबन्दी दैलेखबाट समातिएका छन् ।
बाल सुधारगृहमा रहेका बालबन्दीका बिचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्ये एक जना बालबन्दी दैलेखबाट समातिएका हुन् । बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीका अनुसार बाँकेबाट खटिएको प्रहरी टोली र दैलेख प्रहरीले महाबु गाउँपालिकाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
दैलेखको महाबु गाउँपालिकाका स्थानीयले उनलाई उनको घर नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा देखेपछि नियन्त्रणमा लिन सफल भएको प्रहरी नायव उपरिक्षक डाँगीले जानकारी दिए । बिहीबार दैलेखमा नियन्त्रणमा परेका उनलाई नेपालगञ्ज ल्याइसकिएको छ ।
बाल सुधारगृहबाट भागेका अन्य तीन जना अझै भेटिएका छैनन् । उनीहरूलाई खोज्न प्रहरीले टोली परिचालन गरिएको डिएसपी डाँगीले बताए । २ सय ५४ जना बालबन्दी रहेको सुधारगृहमा यसपालिको झडपमा एक जना बालबन्दीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधारगृहमा भएको झडपमा अगुवाइ गरेका ६४ जनालाई अलग राखिएको छ ।