कर वृद्धिको विरोधमा राजापुर नगरपालिकामा तालाबन्दी

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १५:१०
 

बर्दिया : एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ । कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दीसँगै बजार बन्द गरेका हुन् ।

नागरिकको बेवास्ता गर्दै मनोमानी ढङ्गले नगरपालिकाले चर्को कर असुलेको दलको आरोप छ । कर वृद्धि गर्ने नगरसभाको निर्णय फिर्ता गर्न भदौ १५ गते वडा कार्यलय घेराउ १८ गते नगरपालिका घेराउलगायतका शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि तालाबन्दी गर्नु परेको नेकपा (एमाले) राजापुर नगर कमिटीका अध्यक्ष शर्मा चौधरीले बताए ।

नेपाली कांग्रेस राजापुर नगर समितिका सभापति महेश चौधरीले नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको कर अत्याधिक रहेको बताए । उनले एक सयदेखि पाँच सय प्रतिशतसम्म कर वृद्धि भएको बताए ।


उनले भने, ‘‘गत वर्ष ६७ रुपैयाँ बुझाएका स्थानीयले अहिले छ सय रुपियाँसम्म तिरेका छन् ।’’

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दाबी गरे । उनले आफूहरुले नगरसभाबाट पारित गरेर लिएको कर स्वाभाविक रहेको बताए ।

नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ऐन ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अक्सिजन बुष्टर फिलिङ मेसिन सञ्चालनमा

२२ भाद्र २०८०, शुक्रबार १५:१०
हुम्ला : जिल्ला अस्पताल हुम्लामा अक्सिजन बुष्टर फिलिङ मेसिन पहिलो पटक स्थापना गरिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा नयाँ मेसिन स्थापना भएसँगै अब जिल्लामै अक्सिजन उत्पादन भएर सिलिण्डरमा भरिन थालेपछि बिरामीलाई उपचारमा सहज भएको हो । मेसिनको जडान कार्य सम्पन्न भएपछि कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले एक औपचारिक […]