खेल हारे पनि भारतविरुद्ध नेपालको शानदार प्रदर्शन

सदरलाइन संवाददाता १९ भाद्र २०८०, मंगलवार १४:३९
 

नेपालगञ्ज : एशिया कप क्रिकेटको उदघाटन खेलमा विश्व नम्बर एक पाकिस्तानविरुद्धको ब्याटिङ धराशायी भइसकेको अवस्थामा विश्वको महाशक्ति भारतसँगको ब्याटिङ कस्तो हुने कौतुहल नेपाली प्रशंसकमाझ थियो । कतै नेपालको ब्याटिङ पाकिस्तानसँग जस्तै हुने त होइन भन्ने चिन्ता पनि त्यत्तिकै रह्यो ।

तर ओपनिङ ब्याटिङमा पुनः एकपल्ट दरिलो साथ पाएपछि नेपालले खेल हारे पनि भारतविरुद्ध सोमबार सानदार ब्याटिङ प्रदर्शन ग¥यो । पाकिस्तानसँग ब्याटिङ गर्दा जसरी दबिएको थियो, त्यसको ठीकविपरीत पालेकेले क्रिकेट रंगशालामा भारतविरुद्ध नेपालको ब्याटिङ खुलेको थियो । सुपरस्टार खेलाडी रहेको भारतविरुद्ध नेपालले ब्याटिङमा साहस देखायो ।

कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्कृष्ट सुरुआत दिलाए । यी दुईले १० ओभरभित्र ६५ रन जोडेर राम्रो सुरुआत दिलाएपछि बाँकी नेपाली खेलाडीका लागि त्यो आधार बनेको थियो । कुशल र आसिफ जस्तै नेपालका अन्य ब्याटरले पनि खुलेर खेले ।

सोमपाल कामी एकदिवसीय क्रिकेटमा आफ्नो तेस्रो अर्धशतक बनाउन २ रनले चुकेका थिए । मोहम्मद सामीको बलमा इशान किसनले डाइभिङ क्याच लिएर सोमपाललाई आउट गरे । सोमपाल अर्धशतक नजिक

बढ्दै गर्दा नेपालले २ सय ५० रनभन्दा माथिको स्कोर बनाउने निश्चित जस्तै देखिएको थियो । उनी आउट भएपछि नेपालको बाँकी दुई विकेट झर्न धेरै बेर लागेन ।

क्यानडामा ग्लोबल टी–२० लिग खेलेर आएको प्रभाव दीपेन्द्रसिंह ऐरीमा देखिएको थियो । उनले पनि भारतविरुद्ध खुलेर खेले, तब २५ बलमा २९ रन बनाए । एक समय नेपाली ब्याटिङको आडभरोसा रहेका दीपेन्द्र अहिले लगातारको खस्कँदो ब्याटिङका कारण माथिल्लो क्रममा खेल्ने ७–८ नम्बरमा पर्छन् । भारतसँगको यो इनिङ्स उनकै लागि प्रेरणाको स्रोत बन्न सक्छ ।


नेपाल पछिल्ला खेलहरूमा सर्ट पिच बलमा निकै कमजोर देखिएको थियो । कुशल र सोमपालले भारतसँग सर्ट बलमै छक्का प्रहार गरेका थिए भने आसिफले संयमता देखाउँदै ब्याटिङ गरेपछि नेपालले राम्रो लक्ष्य तेर्स्याएको थियो । आफ्ना प्रमुख तीव्र गतिका बलर जसप्रित बुमराहबिना खेलेको भारतले नेपालले यो किसिमको लक्ष्य तेर्स्याउला भनेर सम्भवतः सोचेको पनि थिएन । किनभने भारतको सर्ट बल तेर्स्याउने रणनीतिविरुद्ध नेपाली ब्याटर खरो उत्रिए । यसमा भारतीय बलिङभन्दा फिल्डिङ नै बढी दोषी थियो ।

कुशल र आसिफ दुवैले १ रनमा जीवनदान पाएका थिए । मोहम्मद सामीले फालेको पहिलो ओभरको अन्तिम बलमा पहिलो स्लिपमा श्रेयस ऐरले क्याच छाड्दा दुई रन भएको थियो । दोस्रो ओभरको पहिलो बलमा मोहम्मद सिराजलाई प्रहार गर्नेक्रममा आसिफ शेखले कभरमा क्याच दिन पुगेका थिए । तर, विराट कोहलीले हातैमा आएको क्याच फुत्काए । अर्को जीवनदान पुनः कुशलले पाएका थिए । सामीको लेगसाइडमा गएको बलमा कुशलको प्रहार विकेटकिपर इशान किसनले फुत्काएका थिए ।

कुशलले आक्रामक रूपमा खेलेका थिए । छैटौं ओभरमा कुशलले सिराजको बलमा गरेको प्रहार मैदानबाहिर रोडछेउ कटेको थियो । ६ रन बनाएपछि कुशलले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो १ हजार रन पूरा गरेका थिए । रोहित र आसिफपछि एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने उनी तेस्रो खेलाडी हुन् । भारतीय बलिङविरुद्ध डटेर खेल्दै आसिफले नेपाली इनिङ्स तानेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको दसौं अर्धशतक हो । नेपालबाट उनले सबैभन्दा बढी अर्धशतक बनाएका छन् । नेपालले टेस्ट राष्ट्रविरुद्ध पाँचौं पटक खेल्दै गर्दा आसिफले दोस्रोपल्ट अर्धशतक बनाएका हुन् ।

कुशल र आसिफले नै जिम्बावेविरुद्ध जुनमा हरारेमा भएको विश्वकप छनोटमा पहिलो विकेटमा ३२ ओभरभित्र १ सय ७१ रनको साझेदारी गरेका थिए । नेपालको मात्र नभई टेस्ट राष्ट्रविरुद्ध एसोसिएट राष्ट्रको पहिलो विकेटमा त्यो सबैभन्दा ठूलो साझेदारी थियो । कुशल त्यो खेलमा शतक बनाउन १ रनले चुकेका थिए भने आसिफले ६६ रन बनाएका थिए ।

कुशल र आसिफले पहिलो विकेटमा तीनपटक शतकीय साझेदारी निभाइसकेका छन् । यी दुईले गत वर्ष अमेरिकामा विश्व क्रिकेट लिग–२ मा ओमानविरुद्ध ह्युस्टनमा १ सय १४ र गत मार्चमा पपुवा न्युगिनीविरुद्ध कीर्तिपुरमा १ सय १० रन जोडेका थिए । जुन हिसाबले कुशल र आसिफले भारतविरुद्ध ब्याटिङ गरे, त्यो कुनै शतकीय साझेदारीभन्दा कम थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निजामति कर्मचारी युनियन स्थापना दिवसमा विभिन्न कार्यक्रम

१९ भाद्र २०८०, मंगलवार १४:३९
नेपालगञ्ज : नेपाल निजामति कर्मचारी युनियन स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा युनियन बाँकेले भेरी अस्पतालको पोषण गृह र जनरल वार्डका बिरामीलाई फलफुल वितरण गरेको छ । सो क्रममा युनियन बाँकेका अध्यक्ष उद्धब श्रेष्ठ, भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाह सहित युनियनका नेता तथा नेतृहरुको […]