नेपालगञ्जका छाडा पशुचौपायालाई कान्जीहाउस लगियो

सदरलाइन संवाददाता १६ भाद्र २०८०, शनिबार १३:५९
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बजार क्षेत्रका छाडा पशुचौपायालाई कान्जीहाउस लैजान थालेको छ । बजार क्षेत्रमा छाडारुपमा छोडिएका ७ दर्जन गाई–गोरु र घोडा–खच्चडलाई शुक्रवार विहान वडा नम्बर २१ विर्तास्थित कान्जीहाउसमा लगिएको छ ।

बजारमा छाडा पशुचौपायाको संख्या बढ्दै जाँदा दुर्घटना हुन थालेपछि ५० वटा गाई–गोरु र ३२ वटा घोडा–खच्चडलाई कान्जीहाउस पुर्याइएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए । नगरका विभिन्न भागमा छरिएर रहेको छाडा पशुचौपायालाई एकिकृत गरेर एकसाथ कान्जीहाउस पुर्याइएको थियो । नगर प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीको टोलीले छाडा पशुचौपायालाई कान्जीहाउस पुर्याएको हो । त्यसक्रममा प्रहरी तालिम केन्द्रका प्रहरी जवानहरुले विशेष भूमिका निभाएका थिए ।

छाडा पशुचौपायालाई कान्जीहाउस लैजाने क्रममा नगर प्रमुख प्रशान्त विष्ट पनि संगसंगै पुगेका थिए । कान्जीहाउस पुगेर नगर प्रमुख विष्टले त्यहाँको अवस्थाबारे जानकारी समेत लिएका छन् । नगर प्रमुख विष्टले कान्जीहाउसका कर्मचारीलाई पशुचौपायाहरुको राम्रोसंग रेखदेख गर्न निर्देशन दिए । उनले पशुचौपायाको खानपिनमा पनि विशेष ध्यान दिन आग्रह गरे ।


आइतवार कान्जीहाउसमा पशु स्वास्थ्य शिविर राखेर पशुहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइने विष्टले बताए । त्यसका लागि पशु शाखालाई निर्देशन दिइसकिएको उनको भनाई छ ।

छाडा पशुचौपायाका दीर्घकालीन व्यवस्थापनका लागि नेपालगञ्ज उपहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासंग समन्वय र सहकार्य गरेर काम गरिरहेको छ । नगर प्रमुख विष्टसंगै प्रबक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला लगायत कान्जीहाउस पुगेका थिए ।

पशुधनीले नै जथाभावीरुपमा घोडा–खच्चड र गाई–गोरु छोड्दा छाडा पशुचौपाया नियन्त्रणमा कठिनाई भइरहेको छ । कान्जीहाउस पुर्याएका आफ्ना जनावर लिन पुग्ने पशुधनीहरुले जरिवाना तिर्नुपर्ने हुन्छ । उनीहरुलाई अब उप्रान्त पशुचौपाया छाडा नछोड्ने लिखित प्रतिबद्धता गरेर मात्र बस्तुभाउ फिर्ता गरिने नगर प्रहरी प्रमुख बोगटीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुटवलमा एमालेको लुम्बिनी प्रदेश अधिवेशन शुरु

१६ भाद्र २०८०, शनिबार १३:५९
बुटवल : नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शुरु भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसहितका वरिष्ठ नेताहरु सहभागी भएका छन् । अधिवेशन उदघाटनअघि विभिन्न क्षेत्रबाट र्याली निकालिएको थियो । सम्मेलन केन्द्रमा एमालेका नेता कार्यकर्ताहरुको ठूलो उपस्थिति रहेको छ । दुई […]