नवौं धारा नेपालगञ्ज म्याराथन मंसिर ९ गते हुने

सदरलाइन संवाददाता १५ भाद्र २०८०, शुक्रबार १३:२७
 

नेपालगञ्ज : नवौं धारा नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगञ्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गञ्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगञ्ज म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।

यस बर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष, महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगञ्ज उपमहानगरपालिकाको गेटबाट शुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ शुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।


यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।

नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । हरेक दुई बर्षमा आयोजना हुने एम्सको २३औं बार्षिक साधारणसभामा नेपालबाट पहिलोपटक नेपालगञ्ज म्याराथनले प्रतिनिधित्व गरेको यहाँहरुलाई जानकारी गराउँछु ।

जापानको ओशाकामा भएको २३औं सभामा नेपालगञ्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगञ्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए ।

त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढा, चौथोमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका भिमबहादुर साउद, छैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की, सातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए भने महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

त्यसैगरी पहिलो एपीएफका कृष्णेस्वरी सिन्तकला, दोस्रोमा एपीएफकी कान्छीमाया कोजु, तेस्रोमा आर्मीकी रेशु बस्नेत, चौथोमा एपीएफकै कान्छीमाया कोजु, पाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपाने, छैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा अग्नि नियन्त्रण तथा उद्धार तालिम शुरु

१५ भाद्र २०८०, शुक्रबार १३:२७
नेपालगञ्ज : दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न नेपालगञ्ज उपमहानगरपालिकाले तालिम दिन थालेको छ । घना बस्तीमा आगलागीको जोखिम र क्षति न्यूनीकरण गर्ने उद्देश्यले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्र शाखा, नगर प्रहरी, नेपाल प्रहरी र समुदायमा अग्नि नियन्त्रणको काम […]

सम्बन्धित