छाडा चौपायाले नेपालगञ्जमा दुर्घटनाको जोखिम बढ्दै

सदरलाइन संवाददाता १२ भाद्र २०८०, मंगलवार १३:४०
 

नेपालगञ्ज : पश्चिम नेपालको ठूलो शहर नेपालगञ्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तुलगायत छाडा चौपायाको समस्या बढेको छ । सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना हुन थालेका छन् ।

सडकका छाडा चौपायाको समस्या समाधानप्रति नेपालगञ्ज उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि यो समस्या दोहोरिएको गुनासो स्थानीय नगरवासीको छ । शहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु यत्रतत्र भेटिने गरेका छन् ।

उक्त क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको छ । छाडा चौपायासँग मोटरसाइकल ठोक्किएर प्रदीप थारूको नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थारू सवार लु. ८२ प ६४६८ नम्बर मोटरसाइकल आइतबार राति सडकमा छाडा गाईसँग ठोक्किएर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय प्रवक्ता नारायण डाँगीले छाडा चौपायाले दिउँसो र राति सवारी दुर्घटना बढाउने समस्या देखिएको बताएका छन् । नेपालगञ्जको विशाल नगरबाट तेज नगर जाने बाटोमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको थियो ।

नागरिक सरोकार समाजका संयोजक कृष्णप्रसाद श्रेष्ठले छाडा चौपाया नियन्त्रणको माग गर्दा पनि सुनुवाइ नभएपछि कतिपयले अकालमै ज्यान गुमाउने गरेको बताए ।

रातिको समयमा बिच सडकमा बसेका छाडा चौपायासँग सवारीसाधन ठोक्ँिकदा दुर्घटना हुन्छ, मान्छेको मृत्यु हुन्छ, उनले भनेका छन् । उनले गाईगोरु, घोडा र खच्चड पाल्नेहरूले आफ्ना चौपायालाई बजारमा छोड्ने गर्दा पटक पटक यस्ता समस्या आउने गरेको बताएका छन् । यो समस्या समाधानका लागि धेरै पहिलेदखि प्रयास गर्दै आए पनि समाधान हुन नसकेकोमा संयोजक श्रेष्ठको भनाइ छ ।

नेपालगञ्जमा छाडा चौपाया राख्नका लागि कान्जीहाउस सञ्चालनमा रहे पनि उचित प्रयोग हुन सकेको छैन । उक्त समस्या समाधान गर्न बृहत् गौशाला निर्माण गर्नुपर्ने माग उठेको छ । नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट छाडा चौपायाको समस्या समाधान गर्न निरन्तर रूपमा विभिन्न किसिमको प्रयास भइरहेको बताउँछन् तर समस्या भने ज्युँका त्युँ नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘देउडा’मा मायाप्रीतिदेखि व्यंग्य

१२ भाद्र २०८०, मंगलवार १३:४०
महेन्द्रनगर : हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहौल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व शुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र कञ्चनपुरका ग्रामीण बस्तीसम्म यतिबेला गोलबद्ध भएर देउडा खेल्ने धेरै भेटिन्छन् । महेन्द्रनगरको शिवधाम परिसरदेखि धनगढीका विभिन्न स्थानमा अचेल देउडाका पारखी […]