राहत प्याकेजको माग गर्दै व्यवसायी सडकमा

२५ असार २०७७, बिहीबार १३:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९)का कारण प्रभावित बनेको उद्योग, व्यवसाय क्षेत्रलाई मौद्रिक नीति मार्फत राहत प्याकेजका कार्यक्रम ल्याउन माग गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायी सडकमा उत्रिएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा बिहीवार उद्योगी, व्यवसायीहरुले दवावमुलक र्यालीको आयोजना गरे । त्रिभुवनचोकबाट शुरु भएको र्याली न्यूरोड, धम्वोझी हुँदै नेपाल राष्ट्र बैंकको कार्यालयमा पुगेर समापन भएको थियो ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका प्रमुख मुक्तिप्रसाद सापकोटामार्फत केन्द्रीय कार्यालयलाई राहत प्याकेजका लागि उद्योगी, व्यवसायीका ११ बुँदे माग सहितको ज्ञापनपत्र बुझाए ।
ज्ञापन पत्र बुझाउँदै संघका अध्यक्ष मन्सुरीले सरकारले राहत प्याकेज नल्याउने हो भने अर्थतन्त्र थप धरासायी बन्ने निश्चित् भएको स्पष्ट पारे । ज्ञापनपत्र बुझ्दै प्रमुख सापकोटाले उद्योगी, व्यवसायीले उठाएका मुद्दा केन्द्रीय कार्यालयमा पठाउने जानकारी दिँदै जायज मुद्दा सम्बोधन हुने बिश्वास दिलाए ।
उक्त अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य दामोदर आचार्यले बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बिश्वनै आक्रन्त भएको बेला नेपाल जस्तो बिकासोन्मुख, रेमिटान्स तथा आयातमा निर्भर राष्ट्रलाई एकातर्फ स्वास्थ्य ब्यय र अर्को तर्फ लामो बन्दाबन्दीका कारण उद्योग व्यवसायको अर्थतन्त्रनै अस्तव्यस्त भएको बताए ।
उनले यसरी अस्तव्यस्त बनेको उद्योग, व्यवसायलाई बजेटले कुनै राहत दिन नसके पनि मौद्रिक नीतिले राहत दिने बिश्वास व्यक्त गरे ।
संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्यले कोभिड–१९ को संक्रमणको अवस्थालाई हेर्दा यसको असर लामो समयसम्म रहने निश्चित भएको भन्दै विज्ञहरु अध्ययन र पुर्वानुमानबाट पनि भविष्यमा आर्थिक संकट निम्तिन सक्ने आकंलन गरेर राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।
महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले निकट भविष्यमा हुने आर्थिक महामन्दीको अवस्थालाई पुर्व आकंलन गर्दै त्यसको असर न्यून गर्ने तर्फ अर्थतन्त्र चलायमान हुनुपर्ने देखिएको बताए । यस्तो परिस्थितीमा उद्योग व्यवसायलाई राहतका निम्ति आर्थिक विधेयकका साथै मौद्रिक नीति मार्पmत आवश्यक व्यवस्था गरी राहत तथा सुबिधा प्रदान गर्नका लागि संघका तर्फबाट माग गरिएको महासचिव चिरञ्जीवी ओलीले बताए ।


Next Post

आठ प्रहरीको हत्या आरोपी दुबे पक्राउ

२५ असार २०७७, बिहीबार १३:०६
सदरलाइनडटकम, नेपालगञ्ज डेस्क : भारतको उत्तर प्रदेशस्थित कानपुरमा डिएसपीसहित आठ जना पुलिसको हत्या गरी फरार अपराधी विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । कानपुरको बिकरुमा गत बिहीवार राती भएको शुटआउटका मुख्य आरोपी दुबे बिहीवार बिहान मध्य प्रदेशको उज्जेनबाट गिरफ्तार भएका हुन् । महाकाल मन्दिर दर्शन गर्न गएका बेलामा दुबेलाई प्रहरीले […]