अस्पताल निर्माणमा ढिलाइले सेवा प्रभावित

सदरलाइन संवाददाता ३ जेष्ठ २०८०, बुधबार १२:३८
 

नेपालगञ्ज : तीन पटक म्याद थपिसक्दासमेत भेरी अस्पताल नेपालगञ्जको नयाँ अत्याधुनिक भवन निर्माण पूरा हुन सकेको छैन । २५० शय्याको सो अस्पताल भवनको निर्माणमा ढिलाइ हुँदा त्यसको प्रत्यक्ष प्रभाव त्यहाँ आउने सयौँ बिरामीलाई परेको अस्पतालले जनाएको छ ।

२०७८ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी आर्थिक वर्ष २०७४/७५ मा प्रेरा सिएबी भीमेश्वर जेभीले भवन निर्माणका लागि ३२ करोडको लागतमा ठेक्का पाएको थियो तर सो समय सकिएर तीन पटक म्याद थप भइसक्दा पनि अस्पताल भवनको निर्माण अझै पूरा भएको छैन ।

पहिलो पटक म्याद थप गरी २०७९ भदौ १५ सम्म र फेरि म्याद थप गरी मङ्सिर मसान्तसम्म र पुनः म्याद थप गरी फागुन मसान्तसम्म हस्तान्तरण गरिने भनिए पनि अहिलेसम्म अस्पताललाई भवन हस्तान्तरण हुन नसक्दा त्यसको प्रत्यक्ष मार बिरामीले खेपिरहेका छन् ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री चापागाईंले अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएकाले नयाँ भवन बनेपछि सहज हुने विश्वास गरिएकामा अझै पनि भवन निर्माण पूरा नभएको बताए । उनले बिरामीको चापले गर्दा अस्पतालमा ठाउँ अभाव भएकाले बिरामी लिएर आउनेहरू आक्रोशित हुने गरेको र नयाँ भवन कहिलेबाट सञ्चालन हुने भनी धेरैले प्रश्न गर्ने गरेको बताए ।


अस्पतालका अनुसार कोभिड महामारीपछि भेरी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । पछिल्ला दिनमा त दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी भेरी अस्पतालमा उपचार लिन आउने गरेका छन् । भेरी अस्पताल नेपाल सरकारको स्वीकृत एक सय शय्या र अस्पताल विकास समितिबाट थप ५० गरेर जम्मा १५० शय्या क्षमतामा सञ्चालित छ ।

सरकारले पाँच सय बेड क्षमतामा अस्पताल स्तरोन्नति गर्न सैद्धान्तिक निर्णय गरिसके पनि जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्था अझै हुन सकेको छैन । बिरामीको चाप र गर्नुपर्ने निःशुल्क सेवाका लागि उपयुक्त बजेट नै व्यवस्था हुन नसकेको पनि जनाइएको छ । अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले कोभिडलगायत विभिन्न कारणले भवन निर्माणमा ढिलाइ भए पनि अब छिटै भवन हस्तान्तरण गर्न दबाब दिइरहेको बताए । उनले केही दिनमै अस्पतालको इमर्जेन्सी सेवालाई नयाँ भवनमा सार्ने तयारी भइरहेको पनि बताए ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका निमित्त आयोजना प्रमुख विजयकेशर खनालले अहिलेसम्म भवन निर्माणको काम ९५ प्रतिशत पूरा भइसकेको र बाँकी काम गरेर आउने असार महिनामा जसरी पनि भवन हस्तान्तरण गरिने जानकारी दिए । उनले भने, “अहिले काम द्रुत गतिमा भइरहेको छ, असारमा सो भवन अस्पताललाई हस्तान्तरण गरिने छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा खोप नलगाएका १७७ बालबालिका भेटिए

३ जेष्ठ २०८०, बुधबार १२:३८
नेपालगञ्ज : नेपालगञ्जमा कुनै पनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ केही समयअघि सुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनै पनि खोप नलगाएका बालबालिका भेटिएका हुन् । स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्जमा १७७ […]