नेपालगञ्ज नाकाबाट आयात घट्यो

सदरलाइन संवाददाता २४ बैशाख २०८०, आईतवार १२:३५
 

नेपालगञ्ज : चोरीपैठारी नियन्त्रण गर्न नसक्दा नेपालगञ्ज नाकाबाट आयात हुने सामानको परिमाण घटेको छ । अवैधरुपमा सामान ओसारपसार गर्ने क्रम बढेपछि अघिल्लो आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा आयात हुँदै आएका सामानको परिमाण घटेको अनुमान गरिएको छ ।

तर नेपालगञ्ज भन्सार कार्यालय चोरीपैठारी बढेको स्विकार्न तयार छैन । उसले आर्थिक मन्दीका कारण उपभोक्ताले खरिद, विक्रि नगर्दा आयात घटेको जनाएको छ । आयात घट्दा राजस्वमा असर परेको छ । नेपालगञ्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्य भेटाउन सकेको छैन । साउन महिनामा सरकारले एक अर्व ७८ करोड ८५ लाख ५५ हजार रुपैयाँ लक्ष्य दिएको थियो, तर नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको ७५ प्रतिशत अर्थात एक अर्व ३५ करोड ४० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन गर्न सकेको सूचना अधिकारी समेत रहेका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको साउन महिनामा भन्सार कार्यालयले १३१ प्रतिशत राजस्व संकलन गरेको थियो । सरकारले एक अर्व ५३ करोड ४४ लाख २९ हजार लक्ष्य दिएकोमा नेपालगञ्ज भन्सार कार्यालयले दुई अर्व एक करोड ७३ लाख ६९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

त्यसैगरी, भाद्र महिनामा ६४ दशमलव २५ प्रतिशत राजस्व संकलन हुँदा गत आर्थिक वर्षको भाद्र महिनामा लक्ष्यको ९३ दशमलव ६८ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले बताए । उनले असोज महिनामा पनि राजस्व संकलन सन्तोषजनक नभएको बताए । गत आर्थिक वर्षको असोज महिनामा १०१ दशमलव ३० प्रतिशत राजस्व संकलन भएको थियो । भने, चालू आवको असोजमा मात्र ५४ दशमलव ८७ प्रतिशत राजस्व संकलन गर्न नेपालगञ्ज भन्सार सफल भएको छ ।

सरकारले कात्तिक महिनामा दुई अर्व ३९ करोड ४२ लाख सात हजार रुपैयाँ लक्ष्य दिएको थियो, तर नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यको ६४ दशमलव ४६ प्रतिशत अर्थात एक अर्व ५४ करोड ५६ लाख ५२ हजार रुपैँयामात्र राजस्व संकलन भएको छ ।

यसैवीच, मंसिरमा लक्ष्यको ५५ दशमलव २१ प्रतिशत, पुसमा ५६ दशमलव ३०, माघमा ६१ दशमलव २४, फागुनमा ५५ दशमलव ०१ र चैत महिनामा ६८ दशमलव ८८ प्रतिशत राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षको मंसिरमा ९६ दशमलव ९८ प्रतिशत राजस्व संकलन हुँदा पुस महिनामा ८४ दशमलव ०८, माघमा ७७ दशमलव ३०, फागुनमा ८९ दशमलव ७४ र चैतमा ७९ दशमलव १६ प्रतिशत राजस्व संकलन भएको थियो । ‘गत आवको चैत मसान्तसम्म ९२ दशमलव ४९ प्रतिशत राजस्व संकलन भएको थियो । चालू आवको चैत महिनासम्म ६१ दशमलव २७ प्रतिशतमात्र राजस्व संकलन गर्न सफल भएका छौँ,’ उनले भने ।


भारतबाट आयात हुने सामानमा पनि कमी आएको छ । गत आर्थिक वर्षको चैत महिनासम्म ११ अर्व २५ करोड ५४ लाख ६६ हजार रुपैँयाको १२ करोड ७५ लाख ८४ हजार किलोलिटर डिजेल आयात भएको थियो । चालू आवको चैतसम्म ११ करोड ४६ लाख ५१ हजार ८४ लाख रुपैयाँको नौ करोड ३२ लाख २८ हजार किलोलिटर तेल आयात भएको छ ।

डिजेल आयातबाट चालू आवको चैत मसान्तसम्म चार अर्व एक करोड ८९ लाख २७ हजार रुपैँया राजस्व संकलन भएको छ । गत आवको चैत मसान्तसम्म चार अर्व ९२ करोड ३४ लाख आठ हजार रुपैयाँ अर्थात चालू आवको भन्दा २० करोड ९७ लाख १८ हजार रुपैयाँ बढि राजस्व संकलन भएको थियो ।

त्यसैगरी, चामल आयतमा पनि कमी आएको छ । गत आवमा एक खर्व ४० अर्व २८ करोड ९९ लाख ५५ हजार किलोग्राम चामल आयात भएको थियो । उक्त चामल आयातबाट ९४ करोड १४ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । तर, चालू आवको चैत मसान्तसम्म घटेर ५२ अर्व २३ करोड ९६ लाख १५ हजार किलोग्राम चाम आयात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । उक्त चामल आयातबाट ४४ करोड ९१ लख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यो अघिल्लो आवभन्दा ५१ द्यशमलव २४ प्रतिशत कम हो ।

एलपी ग्यास आयातमा पनि कमी आएको छ । एलपी ग्यास कम आयात भएकोले गत आवभन्दा चालू आवमा ७ दशमलव १२ प्रतिशत कम राजस्व संकलन भएको भन्सार अधिकृत शर्माले जानकारी दिए ।

चिनी आयातमा कमी आउँदा नेपालगञ्ज भन्सार कार्यालयले ४४ दशमलव ९८ प्रतिशत अर्थात गत आवको भन्दा एक अर्व १९ करोड ७५ लाख ५१ हजार रुपैयाँ कम राजस्व संकलन भएको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आलु, तोरी, रायो, तिल आयात पनि घटेको छ । अघिल्लो आवको तुलनामा चालू आवमा २१ दशमलव ८६ प्रतिशत कम आलु आयात हुँदा २१ करोड ६२ लाख ६८ हजार रुपैयाँ कम राजस्व उठेको छ । भने, ८ दशमलव २२ प्रतिशत कम तोरीजन्य बस्तु आयात भएको छ । यो अघिल्लो वर्षभन्दा ६ करोड ४५ लाख ८१ हजार रुपैयाँ थोरै हो ।

भारतबाट कोइला, टायल, अलकत्रा, पोलेथिन दाना आयातमा पनि कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विषादी सेवनले भेरी अस्पतालमा एक बालकको मृत्यु

२४ बैशाख २०८०, आईतवार १२:३५
नेपालगञ्ज : सल्यानको बागचौर नगरपालिकामा विषादी सेवनबाट एक बालकको मृत्यु भएको छ । विषादी सेवनबाट बागचौर नगरपालिका ४ लौराबाङका १२ वर्षीय रवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य वादविवाद हुँदा रवीनले घर आई नुभान नामक विषादी सेवन […]

सम्बन्धित