मंगलवार रातीदेखि जमुनाहा नाका ७२ घण्टाका लागि बन्द

सदरलाइन संवाददाता १९ बैशाख २०८०, मंगलवार १३:०१
 

नेपालगञ्ज : नेपाल–भारत सीमा जमुनाहा नाका मंगलवार मध्यरातदेखि शिल हुने भएको छ । भारत उत्तर प्रदेशको बहराइच जिल्लामा २१ बैशाखमा हुने गाउँ पञ्चायत निर्वाचनलाई मध्यनजर गरि मंगलवार मध्यरातदेखि ७२ घण्टाका लागि सीमा नाका शिल हुने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार २१ बैशाख बेलुका ६ बजेसम्म नेपाल–भारत आवतजावत बन्द हुने भएको छ । नाका शिल गर्ने विषयमा सोमवार नेपाल–भारत सुरक्षा अधिकारीको बैठक बहराइचमा बसेको छ । बैठकले सीमानाका शिल, सीमामा हुनसक्ने अपराधिक गतिविधि लगायत विषयमा छलफल भएको उनले बताए ।

‘बैठकले १९ बैशाख राती १२ बजेदेखि २१ बैशाख बेलुकी ६ बजेसम्म नाका शिल गर्ने सहमति भएको छ । दुवै देशका सुरक्षा अधिकारीको समन्वयमा विरामी बोकेको एम्बुलेन्सलाई आउजाउ गर्न दिइने छ,’ उनले भने ।

खुला सीमाका कारण सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनका लागि दुई दिन सीमा नाका बन्द गर्न भारतले आग्रह गरेको उनले बताए । त्यसक्रममा सशस्त्र प्रहरी बल र भारतीय सुरक्षा बल (एसएसबी) ले सीमामा संयुक्त गस्ती गर्ने सहमति पनि भएको छ ।


नाका शील गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गर्ने तथा सुरक्षा संवेदनशीलता अनुसार नाकामा गस्ती गर्ने सहमति भएको छ । ‘सीमा शील गरिएको बेला दुवै देशका सुरक्षाकर्मीको समन्वयमा एम्बुलेन्स, विवाहलगायत अत्यावश्यक सेवाका सवारी साधन आउजाउ गर्न दिइने छ,’ केसीले भने ।

खुला सीमाका कारण सहायक नाकामा पनि सुरक्षा सतर्कता अपनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले नाकामा सुरक्षा गस्ती बढाएको सशस्त्र प्रहरी बल बागेश्वरी ३० नम्बर गणले जनाएको छ ।

यसैगरी, वैशाख १९ नेपाल–भारत सीमा क्षेत्रमा मदिरा बेचबिखन र सेवनमा समेत रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बागेश्वरी मन्दिरका मूल महन्तले ज्ञानेन्द्रलाई राजाकै सम्मान दिएको भन्दै आलोचना

१९ बैशाख २०८०, मंगलवार १३:०१
नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा २ महिनादेखि सञ्चालन गरिएको महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र सोमबार परिवारका सदस्य सहभागी भएका छन् । उनलाई यहाँका मूल महन्तले अति विशिष्ट सम्मान दिएका छन् । महाआरतीमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा सहभागी भएपनि उनका छोरा पारस भने सहभागी भएका थिएनन् । उनीहरूलाई […]