थारु समुदायमा माघी र मधेशी समुदायमा खिचडी पर्व मनाईंदै

सदरलाइन संवाददाता १ माघ २०७९, आईतवार १३:४२
 

नेपालगञ्ज : बाँके बर्दियाका थारू समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघीपर्व मनाउँदै छन् । यस्तै मधेशी समुदायमा खिचडी पर्व मनाईंदै छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारू समुदायको छ । मधेशी समुदायमा भने बिहान नुहाएर खिचडी दान गर्नुका साथै खिचडी खाने र बेलुका मिठा मसिना परिकार बनाएर खाने चलन रहेको छ । आजका दिन मधेशी समुदायका दिदीबहिनीहरु आफ्नो माइती जाने चलन रहेको छ ।


थारु समुदायमा बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेहरूले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरूले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाउँको स्वास्थ्यचौकीमा गर्भवतीको अल्ट्रासाउण्ड

१ माघ २०७९, आईतवार १३:४२
हुम्ला : दुुर्गमका स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको अल्ट्रासाउण्ड गर्ने काम भएको छ । गाउँघरमा गर्भवती महिलालाई सामान्य गर्भ जाँच हुने गरेकाबेला जिल्ला अस्पतालबाट परिचालित दक्ष जनशक्तिसहित उपकरणबाट अल्ट्रासाउण्ड गर्ने काम भएको हो । जिल्ला अस्पतालकी वरिष्ठ अनमि सरिता बोहराले आफू संलग्न भएर सर्केगार्ड गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीहरुमा गर्भवती महिलाको […]