राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गरिने

सदरलाइन संवाददाता २७ मंसिर २०७९, मंगलवार १३:०९
 

दाङ : दाङको देउखुरीमा मंसिर २८ गते अर्थात बुधवार राष्ट्रिय झण्डा फहराएर लुम्बिनी प्रदेशको स्थायी राजधानी उदघाटन गर्न लागिएको छ ।

२०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाको दुई तिहाई बहुमतद्वारा नाम र स्थान पारित भए सँगै हालका मुख्यमन्त्री कुलप्रसाद केसीको पहलमा अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लगायत केही महत्वपूर्ण मन्त्रालयहरू स्थायी राजधानीमा आइसकेको र केही मन्त्रालयहरू आउने क्रममै रहेकोले प्रदेश राजधानीलाई राष्ट्रिय झण्डा फहराएर उदघाटन गर्न लागिएको स्रोतले बताएको छ ।

विभिन्न जातजातिको झाँकीसहित एक भव्य समारोहका बीच राजधानीको उदघाटन गर्न लागिएको हो । राजधानी उदघाटन हुने भएपछि राप्ती गाउँपालिकाले राजधानी व्यवस्थापन तथा सञ्चालन सहजीकरण मुल समिति सहित विभिन्न उपसमितिहरू गठन गरेर तयारीलाई तिब्र बनाएको छ । यसैबीच सोमबार मुल समितिका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बसेको समिक्षा बैठकले करिब ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिएको छ ।

हालसम्म विभिन्न उपसमितिहरूलाई तोकिएको जिम्मेवारी अनुसार सरसफाई, स्वागत गेट निर्माण, प्रचारप्रसार, राजमार्ग छेउछाउका प्रतिक्षालय तथा सार्वजनिक स्थल रंगरोगनको काम करिब पूरा भएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले जानकारी दिएका छन् ।


कार्यक्रमका दिन थारू, मगर, गुरूङ, अवधी, मुस्लिम लगायत विभिन्न जातजातिको झाँकी प्रदर्शन र स्वागतका लागि केही तयारी गर्न बाँकी रहेको मुल समितिका सदस्य तथा राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरीले जानकारी दिएकी छिन् ।

कार्यक्रममा राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधि, होटल व्यवसायी, संघ संस्थाका प्रमुख, मुल समिति सहित विभिन्न उपसमितिका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका सुचना अधिकारी एवम् शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गरेका थिए ।

कार्यक्रममा वर्तमान तथा निवर्तमान मुख्यमन्त्रीहरू, मन्त्रीहरू, सांसदहरू, राजनीतिक दलका प्रमुख, जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रमुख, सञ्चारकर्मीहरू, सर्वसाधारणहरू गरि करिब २ हजार बढीको सहभागीता रहने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित एक नेपाली महिला रुपईडिहामा पक्राउ

२७ मंसिर २०७९, मंगलवार १३:०९
नेपालगञ्ज : लागुऔषधसहित एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ की सुस्मिता शाही १ किलो ४७५ ग्राम चरेशसहित पक्राउ परेकी हुन् । रुपईडिहाका थाना प्रभारी निरीक्षक अपराध शाखाका ब्रम्ह गौड, नगर ईञ्चार्ज बरिष्ठ उपनिरीक्षक रुदल बहादुर सिँह र एसएसबीको संयुक्त टोलीले […]