बाँकेमा केही नयाँ र केही पुराना उम्मेदवारबीच प्रतिस्पर्धा

सदरलाइन संवाददाता १ कार्तिक २०७९, मंगलवार १४:३५
 

नेपालगञ्ज : बाँकेमा प्रतिनिधि सभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रमा जनताले पटक–पटक परीक्षण गरिसकेका र नयाँ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।

बाँके क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज उम्मेदवार छन् । उनको सशक्त प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का तर्फबाट सूर्य ढकाल उम्मेदवार देखिएका छन् । मन्त्री गहतराजको यो तेस्रो प्रतिस्पर्धा हो भने एमाले केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज ढकाल पहिलो पटक संसदीय राजनीतिमा उम्मेदवार बनेका छन् ।

प्रदेश (क)मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण केसी लगातार दोस्रो पटक प्रतिस्पर्धामा छिन् । त्यहाँ एमालेको समर्थनमा राप्रपाका नरेन्द्र पौडेल उम्मेदवार बनेका छन् ।

त्यस्तै जनता समाजवादी पार्टीका अमर खड्का पहिलो पटक प्रतिस्पर्धामा रहेका छन् । प्रदेश (ख)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस पार्टीबाट फुलाराम थारू र एमालेका दुर्गाप्रसाद थारू उम्मेदवार रहेका छन् । कांग्रेस उम्मेदवार फुलाराम यसअघि फोरम लोकतान्त्रिकबाट पटक–पटक उम्मेदवार बनेका थिए । दुर्गा भने पहिलो पटक उम्मेदवार बनेका छन् ।

बाँके क्षेत्र नम्बर २ मा एमालेको समर्थनमा राप्रपाका महामन्त्री डा. धवलशमशेर राणा, जसपाका पूर्वमन्त्री मोहम्मद इस्तियाक राई र कांग्रेसका सुदीपनरसिंह राणाबीच प्रतिस्पर्धा रहेको छ । २०५४ र २०७४ सालमा नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित डा. राणा २०५१, २०६४ र २०७० सालमा संसदीय उम्मेदवार बनेका थिए ।

पूर्वमन्त्री राईले पनि २०६४ सालयताका हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।


कांग्रेसका उम्मेदवार सुदीपनरसिंह भने नयाँ छन् । प्रदेश (क)मा एमालेका उम्मेदवार विजयबहादुर यादव २०७४ सालको निर्वाचनमा सङ्घीय समाजवादी फोरम (हाल जसपा)बाट विजयी भएका थिए । जसपाका भण्डारीलाल यादव यसअघि पनि स्थानीय तहको निर्वाचनमा डुडुवा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बनेका थिए ।

प्रदेश (ख)मा कांग्रेसले २०७४ सालमा विजयी उम्मेदवार प्रदेशमन्त्री सुरेन्द्र हमाललाई दोहो¥याएको छ । एमालेबाट निरक गुरुङ, जसपाका आदेश अग्रवाल, माओवादी केन्द्रका अकलबहादुर बमलगायत युवा नेताहरू पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी बाँके क्षेत्र नम्बर ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार सहमहामन्त्री किशोरसिंह राठौर रहेका छन् । एमालेले यसअघि खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष तथा पार्टीका जिल्ला अध्यक्ष किस्मत कक्षपतिलाई उम्मेदवार बनाएको छ ।

प्रदेश (क)मा गठबन्धनबाट माओवादी केन्द्रले २०७४ सालमा विजयी आईपी खरेल र एमालेले जिल्ला सचिव रत्न खत्रीलाई उम्मेदवार बनाएको छ । नेता खत्री पनि पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहाँबाट पूर्वराज्यमन्त्री तथा एकीकृत समाजवादीका नेता दलबहादुर सुनारले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७४ सालमा कांग्रेसबाट उम्मेदवार बनेका चन्तराम थारू यस पटक नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका छन् । प्रदेश (ख)मा गठबन्धनबाट कांग्रेसका वादशाह कुर्मी रहेका छन् । नेता कुर्मी २०६४ र २०७० सालमा संविधान सभा सदस्य तथा २०७४ मा पार्टीबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । त्यहाँ एमालेबाट उम्मेदवार बनेका युवा नेता भीम वली पनि संसदीय राजनीतिमा पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जस्थित सुक्खा बन्दरगाहको निर्माण कार्य अझै बढेन

१ कार्तिक २०७९, मंगलवार १४:३५
नेपालगञ्ज : नेपालगञ्जस्थित नेपाल भारत सीमा नाकामा रहेको सुक्खा बन्दरगाह निर्माण अझै पूरा हुन सकेको छैन । भारतीय पक्षले चासो नदिँदा सो बन्दरगाहको काम अलपत्र परेको बताइएको छ । पछिल्लोपटक भारतले सीमावर्ती जयसपुर दशगजा क्षेत्रमा तारबार समेत गरेको छ । ‘भारतले आफ्नो क्षेत्रमा तारबार र पर्खाल बनाएको त देखिन्छ,’ नेपालगञ्जस्थित […]

सम्बन्धित