नेपालगञ्ज : बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई जिताउन वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी बन्न थालेका छन् ।
बाँके निर्वाचन क्षेत्र नम्बर २ मा तालमेलका उम्मेदवारहरुलाई विजयी गराउन नेकपा एमाले र राप्रपाको वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भइसकेको र क्षेत्र नम्बर १ र ३ मा पनि गठन प्रक्रिया सुरु भएको नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जानकारी दिए ।
बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएको बताउँदै उनले दुई पार्टी बीचको तालमेलले जिल्लाका ३ वटै प्रतिनिधि सभा र ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको दावी गरे ।
आइतवार निर्वाचन क्षेत्र नम्बर अन्तर्गतका २७ वटै वडाका अध्यक्ष, सचिव र इन्चार्जको संयुक्त बैठकले वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका ६ वडा गरी २७ वटै वडामा नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन भएको हो ।
वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्न आयोजित भेलालाई राप्रपाका केन्दीय महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणा, नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् बाँके क्षेत्र नम्बर २(२) का उम्मेदवार निरक गुरुङ, क्षेत्र नम्बर २(१) का उम्मेदवार विजय यादव, एमाले निर्वाचन क्षेत्र नम्बर २ का संयोजक अशोक कर्माचार्य, एमाले नगर अध्यक्ष आचार्य लगायतले प्रशिक्षण समेत दिएका थिए ।