नेपालगञ्ज : कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुका लागि पछिल्लो समय नेपालगञ्ज केन्द्र बन्न थालेको छ । मानसरोवर पुग्न भारतबाटै बाटो भएपनि नेपालबाट बढी सुरक्षित हुने भएकाले नेपालगञ्जबाट यात्रा गर्नेको संख्या बढिरहेको हो ।
यसले नेपालगञ्जमा पर्यटकको उपस्थिति मात्रै बढाएको छैन पर्यटन र होटल व्यवसायीको आम्दानी पनि बढाएको छ । चीनमा पर्ने कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो ।
भारतबाटै जान सकिने भए पनि भारतीयका लागि नेपाल सुरक्षित मार्ग भएको छ । भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक बनेकाले पनि यही मार्ग प्रयोग गर्न भारतीय रूचाउँछन् । वैशाखदेखि असोजसम्म मानसरोवर पुग्न सकिने भएकाले अहिले नेपालगञ्ज भारतीय पर्यटकको स्वागत गर्न ब्यस्त छ ।
अहिले ६० जना भारतीय पर्यटकको टोली मानसरोवरका लागि नेपालगञ्ज आइपुगेका छ । यहाँबाट हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान सकिन्छ । सिमिकोटबाट लिमि लाप्चा भञ्ज्याङसम्म ट्रेकिङ गर्दै जाने गरिन्छ ।
हिल्सा र केरुङबाट सडक मार्ग हुँदै १० दिन लगाएर दर्शन गर्दै आएका भारतीय पर्यटक नेपालबाटै मानसरोवरको दर्शन गर्न पाउँदा उत्साहित छन् । सिमिकोटबाट लिली लाप्चा भञ्ज्याङ एक सय ५ किलोमिटर दूरीमा पर्ने हुँदा कतिपयले हेलिकोप्टरबाटै पनि भञ्ज्याङसम्मको यात्रा तय गर्दै आएका छन् ।
हेलिकोप्टरबाट भञ्ज्याङको सौन्दर्य र रमणीय दृष्यावलोकन गर्ने पर्यटकका कारण हेलि पर्यटन व्यवसायी पनि खुसी छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगन्जका प्रायः सबै ठूला र मध्यम होटल भरिभराउ छन् ।
नेपालगञ्ज आइपुग्ने भारतीय पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगञ्जमा धमाधम तारे होटलहरु थपिँदै छन् । कोरोना महामारी अघि नेपालगञ्जबाट सिमिकोटको हिल्सा हुँदै मानसरोवर पुग्ने भारतीय पर्यटकको संख्या १२ हजारभन्दा बढी थियो । दुई वर्षयता महामारीका कारण कमी आएपनि पुनः यो बढ्ने क्रममा छ ।