भारत निर्यात हुन नसकेपछि नेपालगञ्जमै थन्कियो जडीबुटी

सदरलाइन संवाददाता ८ भाद्र २०७९, बुधबार १३:४९
 

नेपालगञ्ज : भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा नेपाली जडीबुटी नसमेटिँदा बाँकेको नेपालगञ्जमै जडीबुटी थन्किएको छ । भारत निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडीबुटी नेपालगञ्जस्थित जडीबुटी व्यवसायी सङ्घमै थन्किएको हो । बाँकेमा जडीबुटी सम्बन्धी १२ उद्योग छन् ।

कारोबार नहुँदा उक्त जडीबुटी कुहिने अवस्थामा पुगेको व्यवसायी रवीन्द्रनाथ शुक्लाले बताए । उनले आफ्नो एक करोड मूल्य बराबरको उत्पादन थन्किएको बताए । नेपाल जडीबुटी सङ्घ बाँकेले गत वर्ष पाँच हजार टन जडीबुटी निर्यात गरेको थियो । यस वर्ष हालसम्म दुई हजार टन मात्र जडीबुटी निर्यात भएको छ । नेपालका विभिन्न जिल्लामा सङ्कलन गरिएको ३० प्रकारको जडीबुटी बाँके ल्याउने गरिएको छ ।

सरकारले जडीबुटी निर्यातमा सहजीकरण नगरेको सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माको आरोप छ । सरकारले जडीबुटी खेतीतर्फ ध्यान दिने हो भने लक्षित वर्गका किसानले रोजगारी पनि पाउने र जडीबुटी पनि आफ्नै देशमा उत्पादन गर्न सकिने उनको भनाइ छ । भारतीय भन्सारमा निर्यातमा समस्या, भारतको क्वारेन्टाइनमा नेपालका जडीबुटी सूचीकृत नहुनुलगायत कारणले निर्यातमा कमी आएको शर्माले बताए ।


भारतको प्लान क्वारेन्टाइनसँग समन्वय गरेर नेपालका जडीबुटी भारतको क्वारेन्टाइनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने उनको भनाइ छ । जडीबुटी व्यवसायी सकिल अहमद जसगढले सरकारले निर्यातमा समवन्य नगर्दा निर्यातमा समस्या झेल्नुपरेको बताए ।

बाँकेमा एक सय १२ हेक्टर जमीनमा जडीबुटी खेती गरिएको छ । यसै वर्षदेखि यहाँ कुरिलो खेतीको शुरुआत गरिएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका पूर्वअध्यक्ष मोहम्मद याकुव अन्सारीका अनुसार सरकारी नीति फितलो हुँदा जडीबुटी खेती फस्टाउन सकेको छैन । केन्द्रले जडीबुटी खेतीको संरक्षण र प्रवद्र्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन–अनुसन्धान तथा बजारीकरण सम्बन्धी कार्ययोजनाअनुसार आफ्नो भूमिकालाई अघि नबढाएको उनको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया राष्ट्रिय निकुञ्जमा जंगल सफारी पुनः शुरु

८ भाद्र २०७९, बुधबार १३:४९
नेपालगञ्ज : बर्दिया राष्ट्रिय निकुञ्जमा गत साउन ९ गतेबाट बन्द रहेको जंगल सफारी बुधबारदेखि सञ्चालनमा आएको छ । पर्यटक र पर्यटन व्यवसायीको आग्रहलाई मध्यनजर राख्दै सफारी निश्चित तोकिएको राम्रो बाटोमा अवलोकन गर्न पाउने बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । तर पानी पर्नासाथ सफारी गर्न नपाउने बताइएको […]