भेरी अस्पतालमा नयाँ डायलाइसिस मेशिन जडान हुँदै

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार १४:३४
 

नेपालगञ्ज : गत साउनमा आइपुगेको ६ वटा डायलाइसिस मेशिन भाद्र दोस्रो सातादेखि सञ्चालनमा ल्याउने भेरी अस्पतालले तयारी गरेको छ । मेसिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलाइसिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो गरेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेशिन पठाएको छ ।

मेशिन आएको जानकारी पाएर खुशी भएका मिर्गौला पीडित अस्पतालले जडानमा ढिलाई गरेपछि निराश बनेका छन् । अस्पतालका कारण पालो कुरेर बसेका मिर्गौला पीडितलाई थप एक हप्ता पर्खिनु पर्ने भएको छ ।

डायलाइसिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्टका लागि घर निर्माण गर्न समय लागेकोले डायलाइसिस मेशिन जडानमा ढिलाई भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले बताए ।

उनले आरओ प्लान्टका लागि घर निर्माण अन्तिम चरणमा भएको बताउँदै प्लान्ट जडानको काम सकिने वित्तिकै डायलाइसिस मेसिन जडानका लागि प्राविधिक बोलाउने बताए । ‘भाद्र दोस्रो सातादेखि मन्त्रालयले पठाएका नयाँ मेशिनबाट डायलाइसिसको काम शुरु गर्ने योजनाका साथ काम भइरहेको छ,’ उनले भने ।


उनले डायलाइसिस मेशिनसँगै आरओ प्लान्ट नआउने भएकोले ढिलाई भएको जिकिर गरे । नयाँ मेसिन पुरानो आइसियू कक्षमा राख्ने तयारी गरिएको बताउँदै डा. चापागाईले अहिलेलाई नयाँ ६ वटामध्ये पाँच वटा मात्र सञ्चालनमा ल्याउने स्पष्ट पारे । नयाँ मेशिन जडान भए दैनिक १५ जनाले डायलाइसिस सेवा पाउने छन् ।

भेरी अस्पतालसँग अहिले ६ वटा पुराना मेशिन छन् । तिमध्ये दुई वटा विग्रिएको छ । एउटा इमरजेन्सीका लागि राखिएको छ । तीन वटा मेशिनले दैनिक तीन सिफ्टमा ९ जनाले डायलाइसिस सेवा लिँदै आएको मेडिकल सुपरिटेन्डेन्ट डा. चापागाईको भनाई छ । उनले पुराना ४ वटा मेशिन इमरजेन्सी, एचआइभी संक्रमित, हेपाटाइटिस वी र अन्य संक्रामक रोग लागेका विरामीका लागि राखिने बताए ।

भेरी अस्पतालबाट अहिले ३० जना विरामीले डायलासिस सेवा लिइरहेका छन् । डा. चापागाईका अनुसार ४५ जना मिर्गौला पीडित डायलाइसिसको पर्खाईमा छन् । ‘नयाँ मेशिन जडान भए दैनिक थप ६ जना विरामीले डायलाइसिस सेवा पाउने छन्,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको नरैनापुरमा खडेरी, रोपेको धान पनि सुक्यो

२ भाद्र २०७९, बिहीबार १४:३४
नरैनापुर (बाँके) : बाँकेको नरैनापुरमा खडेरी परेको छ । पानी नपरेपछि किसानले धान रोप्न पाएका छैनन् । अलिअलि रोपेको धान पनि सुकेको छ । सबैजसो मानिसले खेती किसानीबाट नै जीवीकोपार्जन गर्ने गरेको नरैनापुरमा यसपालि पानी नपरेकाले धान रोपाई हुन सकेको छैन । गाउँपालिकाका कृषि शाखाका कर्मचारी सदन भण्डारीका अनुसार, नरैनापुरमा […]