सुक्न थाले बाँकेका अधिकाँश हेण्डपम्प

सदरलाइन संवाददाता ३१ जेष्ठ २०८०, बुधबार १५:१६
 

नेपालगञ्ज : चर्को गर्मीले बाँकेका अधिकांश हेण्डपम्पको पानी सुक्न थालेको छ । यसअघि कहिलै नसुक्ने चुरे पर्वत आसपासका हेण्डपम्पले समेत पानी दिन छाडेको बैजनाथ गाउँपालिका १ च्यामाका होटल ब्यवसायी दलबहादुर चन्दले बताए ।

उनले लामो खडेरीले च्यामा र आसपासका हेण्डपम्पले पानी दिन छाडेको बताए । ‘यसअघि कहिलै नसुक्ने हेण्डपम्पले समेत पानी दिन छाडेको छ । गर्मीले रुख, विरुवा ओइलाउन थालेका छन् । तातो हावा (लू) चल्न थालेपछि जनजिवन कष्टर बनेको छ,’ उनले भने ।

बैजनाथ गाउँपालिका २ लढौराका गणेश सुनारले पनि हेण्डपम्प सुकेपछि पिउने पानीको समस्या भएको बताए । हेण्डपम्पबाट थोपा–थोपा पानीमात्र आउने गरेको उनले बताए । ‘मोटरले पानी तान्न छाडेको छ । हातले चलाउँदा थोपा–थोपामात्र पानी आउँछ,’ उनले भने ।


हेण्डपम्पको भरमा राखिएको धानको वियाड सुक्न थालेपछि किसान चिन्तित भएका छन् । हेण्डपम्पले पानी दिन छाडेपछि धानको वियाड राखेको खेतको गरामा चिरा परेको बैजनाथ गाउँपालिका १ च्यामाका रामविलास थारुले बताए । ‘हेण्डपम्पले अघिल्लो वर्षको भन्दा एकदमै कम पानी दिइरहेको छ । राखेको वियाड सुक्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भने ।

राप्तीसोनारी गाउँपालिका ६ का हेण्डपम्प पनि सुक्न थालेको स्थानीय महादेव थारुले बताए । उनले हेण्डपम्प चलाउँदा चलाउँदै पानी आउन छाड्ने गरेको बताए । ‘एक त पानी एकदमै कम आउँछ त्यसैमा आउँदा आउँदै हेण्डपम्पले पानी छोड्छ,’ उनले भने ।

नरैनापुर गाउँपालिका वडा नं. ६ का हेण्डपम्प पनि सुक्न थालेको वडा अध्यक्ष प्रेमचन्द्र मौर्यले बताए । उनले वडास्थित २४ विघाका हेण्डपम्पले दिउँसो १२ बजेपछि पानी नदिने गरेको बताए । ‘डिप बोरिङले समेत अघिल्लो वर्ष जस्तो पानी दिइरहेका छैनन् । गतवर्षको खडेरीबाट डराएका किसानहरु धानको वियाड राख्न डराइरहेका छन्,’ उनले भने, ‘राखेका किसानको समेत वियाड सुक्न थालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बाँकेमा एक जना पक्राउ

३१ जेष्ठ २०८०, बुधबार १५:१६
नेपालगञ्ज : ब्राउनसुगरसहित नेपालगञ्जमा एक जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित कोहलपुर नगरपालिका–१२ बस्ने १९ वर्षीय ज्ञानेन्द्र टमटा पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाहाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त […]

सम्बन्धित