दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा जडान गर्ने प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १८ डायलायसिस मेशिन अलपत्र परेका छन् ।
साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेशिन दाङ आएका हुन् । तर जडानको काम अघि बढेको छैन ।
जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन् । मेशिन आएपनि अन्य सामग्री नआएको उनले बताइन् ।
अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेशिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन् । थप आठ मेशिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने अस्पतालले जनाएको छ ।
त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेशिन छन् । पाँच मेशिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकोमा १० मेसिन थपिएसँगै उक्त क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान भट्टराईले बताए । उनका अनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ ।
अब भने चौबीसै घण्टा सेवा दिन सकिनेछ । अहिले करिब ४० बिरामी उपचारको प्रतीक्षामा छन् । लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ । यहाँ ३० बिरामीले सेवा लिइरहेका छन् ।