बर्दियाको राजापुर र टीकापुर कर्णाली नदीको कटानले जोखिममा

सदरलाइन संवाददाता २२ श्रावण २०७९, आईतवार १४:३३
 

बर्दिया : कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा परेका छन् ।

कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्किन थालेको छ । सत्ती पुल निर्माण भएदेखि नै जोखिममा छ ।

हरेक वर्ष बर्दियातर्फ कटान भएकोले नदीको भँगालोले धार परिवर्तन गर्ने जोखिम छ । भंगालो पसेमा टीकापुर–८ श्रीलङ्का डुबानमा पर्ने जोखिम छ । त्यहाँ करिब ५० परिवार बस्दै आएका छन् । हजारौं बिघा खेती कटानको जोखिममा छ ।


श्रीलङ्कामा बस्ती सुरक्षाका लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) रहेको छ । ‘त्यहाँ विद्यालय, आधारभूत स्वास्थ्य इकाइ छ, कटान बढेमा त्यहाँका नागरिक अन्यत्र सार्नुपर्छ’ टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने, ‘शनिबार कटान क्षेत्र र श्रीलङ्का बस्ती अनुगमन र स्थानीयसँग छलफल भएको छ ।

नदी बस्तीमा पस्नसक्ने जोखिम रहेकाले त्यहाँका नागरिकलाई उद्धारका लागि नगरपालिका तयारी अवस्थामा रहेको छ । साथै अत्यावश्यक सामान सुरक्षित राख्न भनेका छौं । बढी वर्षा भएर कटान बढेमा बस्ती सार्छौं ।’नदी बर्दियातर्फ पसेमा राजापुर क्षेत्रको जङ्गल र राजापुरका विभिन्न बस्ती र बजारसमेत जोखिममा रहेको छ ।

गत वर्ष पनि कैलाली र बर्दिया जिल्ला जोड्ने हुलाकी राजमार्गमा रहेको यो पुल अवरुद्ध भएपछि ६ दिन बन्द गरिएको थियो । पुलको पूर्व अर्थात् बर्दियातर्फको भाग भासिएपछि आवागमन अवरुद्ध भएकामा मर्मतपछि पुनः सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा साढे २९ अर्ब बढी राजस्व संकलन

२२ श्रावण २०७९, आईतवार १४:३३
नेपालगञ्ज : संघीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगञ्ज बाँकेको तथ्याङ्कानुसार संघीय सरकारतर्फ २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ एक अर्ब एक […]