मंगलवार नागपञ्चमी, पूजा आराधना गरी मनाईंदै

सदरलाइन संवाददाता १७ श्रावण २०७९, मंगलवार १३:३९
 

नेपालगञ्ज : प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व मंगलवार परम्परा अनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाईंदैछ ।

यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

वराहपुराणमा उल्लेख भए अनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो ।


आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ ।

वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्प लगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने पाइएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतीय कुखुराको तस्करी रोक्न किसानको माग

१७ श्रावण २०७९, मंगलवार १३:३९
नेपालगञ्ज : बाँकेमा कुखुरा तस्करी बढ्दा व्यावसायिक किसान मर्कामा परेका छन् । भारतबाट खुला सीमाको फाइदा उठाउँदै कुखुरा भित्रिन थालेपछि यहाँका किसानका कुखुरा बिक्री हुन छाडेका हुन् । भारतीय कुखुरा नेपालीभन्दा प्रतिकिलो ४० रुपैयाँ कममा पाइन्छ । त्यसैले व्यापारीले चोरबाटो भएर भारतबाट कुखुरा भित्र्याइरहेका छन् । अहिले नेपाली कुखुरा प्रतिकिलो २ […]