डोटीका ३ पालिकामा मदिरा निषेध

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १४:५६
 

डोटी : जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितणसमेत रोक्ने निर्णय गरेका छन् ।

केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए ।

वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको उनको भनाइ छ । वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।

यसैगरी आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।


यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ ।

सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिए ।

जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएका छन् ।

कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा दोहोरो नागरिकता लिएका माथि कारबाही

५ श्रावण २०७९, बिहीबार १४:५६
बर्दिया : बर्दियामा दोहोरो नेपाली नागरिकता लिएका ६ जनामाथि कारबाही गरी नागरिकता खारेज गरिएको छ । एक वर्षयता दोहोरो नागरिकता लिएका उनीहरूको नागरिकता खारेज गर्नुका साथै १ देखि ५ हजार रुपैयाँ जरिवाना लिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । गत आर्थिक वर्षमा परेका १२ वटा […]