नेपालगञ्ज : बाँके प्रहरीले शुक्रबार बिहान नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गईरहेको भारतीय नम्बरको बन्दबडी माल वहाक कन्टेनरमा ठूलो परिमाणमा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
सीमा नाका जमुनाहमा खटेको सशस्त्र प्रहरीका प्रहरी निरिक्षक जीवनलाल बुढा र नेपाल प्रहरीका बरिष्ठ प्रहरी नायव निरिक्षक माधव रिजालको कमाण्डको संयुक्त टोलीले विशेष सूचनाका आधारमा आरजे ०९ जिबि ४५४२ नंम्बरको भारतीय मालबाहक कन्टेनरबाट २५ किलोका २ सय ५० बोरी अफिम सिड (पोष्टर दाना) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
जमुनाहनाका भएर शंकास्पद बस्तु गैरकानुनी तरिकाले नेपालबाट भारततर्फ लगिरहेको सूचनाको आधारमा नेपालगञ्ज भन्सार क्षेत्रमा परिचालित सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली विषेश चनाखो भएर निगरानी बढाई रहेको अवस्थामा शुक्रबार बिहान साढे १० बजेतिर जमुनाहमा सो कन्टेनर नियन्त्रणमा लिएको हो ।
प्रहरी नियन्त्रणमा रहेको कन्टेनरलाई इलाका प्रहरी कार्यालय परिसरमा लगेर खोजतलास तथा छानवीन गर्दा २५ किलोको बोरीमा प्याक गरेको अवस्थाको २ सय ५० बोरी अफिम सिड फेला पारेको थियो ।
सीमा प्रहरी कार्यालय जमुनहा प्रहरीका इन्चार्ज माधव रिजालका अनुसार नियन्त्रणमा लिएको गाडीको चेकजाँचको क्रममा बन्द बडीभित्र फल्स बटम बनाई लोड गरिएको २ सय ५० बोरा सेतो धुलो जस्तो देखिने पदार्थ फेलापरेको बताए ।
उनले भने–‘ सूचनाको आधारमा भारततर्फ जाने गाडिमाथि कडा निगरानी राखेको अवस्थामा आरजे ०९ जिबि ४५४२ नं.को बन्दबडीको ट्रक आएको चेकजाँचको क्रममा ड्राइभर गाडिको चाबी छाडेर भागे पछि ट्रक नियन्त्रणमा लिएर खानतलासी गर्दा सो माल बरामद भएको हो ।’
स्रोतका अनुसार बन्द वडीको कन्टेनर भित्र पार्टिसेन गरी शंकास्पद हर्कत देखिएकाले पनि सुक्ष्म तरिकाले खोजतलास गरेको प्रहरीले जनाएको छ । अफिम सिड ‘पोष्टर दाना’ बोकेको गाडी बाँके प्रहरीले चेकजाँच सुरु गरेपछी मौका छोपेर सो गाडिको चालक भारत तर्फ फरार भएको प्रहरीले जनाएको छ ।
पोष्टर दाना अफिमको बिउ रहेको र यो लागु औषधको रुपमा नभए पनि बजार मुल्य २५ केजीको प्रति बोरीको मुल्य करिब ५० हजार पर्ने बताइएको छ । पक्राउ परेका २ सय ५० बोरीमा ५÷६ बोरी च्यातिएको छ भने अन्य सकुशल छ । बजार मुल्य अनुसार शुक्रबार बिहान पक्राउ परेको समानको एकमुष्ट मुल्य करिब १ करोड २५ लाख बरावरको रहेको र सो सप्लाई गर्ने नेपाली व्यावसायीको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।