नेपालगञ्जमा खाली गराईंदै अवैधरुपमा कब्जा गरिएका सडकपेटी

सदरलाइन संवाददाता ८ असार २०७९, बुधबार १५:५१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न सडक पेटी अवैधरुपमा कब्जा गरेर पसल लगाउने, व्यवसाय गर्ने तथा सवारी साधन उभ्याउनेविरुद्ध कडाई शुरु गरिएको छ ।

नेपालगन्ज उपमहानगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त आयोजनामा नेपालगञ्ज नगरभित्र अवैधरुपमा कब्जा गरिएका सडक पेटी खाली गराउने अभियान सञ्चालन गरिएको हो ।

नगरको सदरलाइन, वडा प्रहरी कार्यालयदेखि त्रिवेणीमोड, ईदगाह रोड, सेतु विक चोक क्षेत्र, सुर्खेतरोडको धम्बोझी चोक र पुष्पलाल चोकसम्मको सडक पेटीलाई अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने वा सामान राख्ने गरेको पाइएकोले खाली गर्ने अभियान शुरु गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरिक्षक हिमालय शाहका अनुसार सडक पेटीमा रहेको अतिक्रमण हटाउने कार्य थालिएपछि अधिकांश नगरवासी खुशी देखिएका छन् । पैदल हिँड्ने यात्रुहरुलाई यसबाट निकै सहज भएको छ ।

प्रमुख शाहले अहिलेसम्म त्रिवेणीमोड, बिस्कोरियनटोल लगायत स्थानमा अतिक्रमण गरिएको पेटी विभिन्न पसलेहरुबाट मुक्त गराई सकिएको छ भने अन्य स्थानमा जारी रहेको बताए । प्रहरीले सडकपेटी कब्जा नगर्न सर्वसाधारण र व्यवसायीसंग आग्रह पनि गर्दै आएको छ ।


नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दीन राईले सडक पेटी अतिक्रमण, ट्राफिक व्यवस्थापन र फोहर व्यवस्थापनमा नागरिकको चेतना र सहयोग अतिनै आवश्यक रहेकोले यी कुरामा नागरिकले सहयोग गर्नुपर्ने बताए ।

नगर उपप्रमुख राईले आफ्नो नगरलाई सुन्दर र व्यवस्थित बनाउन हामी सबै आफै अगाडी बढेर उपमहानगरलाई सहयोग गर्नुपर्नेमा जोड दिए । उनले नगरलाई सुन्दर र राम्रो तथा व्यवस्थित बनाउन सडकपेटी खाली गराउनु अतिआवश्यक भएको जनाए ।

ट्राफिक व्यवस्थापन मिलाउन सडक पेटी खाली गर्नै पर्ने निष्कर्ष निकालेर सो कार्य शुरु गरिएको जनाउँदै उनले सो कार्यमा अवरोधको सट्टा सहयोग गर्नुपर्नेमा जोड दिँदै सो तर्फ अहिले काम भइरहेकोले सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रहरीसहितको संयुक्त टोलीले सडक पेटी खाली गराएर गएको अर्को दिन फेरी सडक पेटी कब्जा गर्ने स्थानीयको बानी व्यवहार परिवर्तन नभएसम्म नगरलाई सुन्दर र व्यवस्थित बनाउन नसकिने स्थानीयको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इन्धनको मूल्यवृद्धिले बाँकेका किसानलाई पिरलो

८ असार २०७९, बुधबार १५:५१
डुडुवा (बाँके) : इन्धनको मूल्य बढ्दा बाँकेका किसान मर्कामा परेका छन् । रोपाइँ गर्ने समयमा डिजेलमा भएको मूल्यवृद्धिले आम्दानीभन्दा लागत दोब्बर लाग्ने किसानले बताएका छन् । कृषिमा लागत बढ्न थालेको तर प्रतिफल भने हरेक वर्ष घट्दा खेतीपातीमा आकर्षण घटिरहेको कृषकहरुले बताएका छन् । समयमै पानी नपर्दा, कृषि मलको चरम अभाव […]

सम्बन्धित