नेपालगञ्ज : नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएको छ । दैनिक प्रयोगमा आउने खानेतेल, ग्यास, चामल, चिनी, तरकारी, फलफूल र दुग्धजन्य वस्तुको मूल्य भएको हो ।
कोरोनाको प्रभावले सर्वसाधारणको आम्दानी खुम्चिए पनि महङ्गी भने निरन्तर उकालो लाग्ने क्रम नरोकिँदा दैनिकी चलाउन मुस्किल हुन थालेको उपभोक्ताहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिको कारण भान्साको खर्च धान्न मुस्किल हुन थालेको सर्वसाधारणले गुनासो गरेका हुन् ।
आम्दानीका अवसर बढ्न नसकेको तर ढाड भाच्ने महङ्गीले हातमुख जोर्न समस्या हुन थालेको हो । एक वर्षदेखि दैनिक उपभोग्य वस्तुमा मूल्य निरन्तर बढ्दा घर खर्च चलाउन समस्या भएको नेपालगञ्जकी स्थानीय सुनिता वर्माले बताइन् ।
उपभोग्य वस्तुमध्ये सबैभन्दा बढी मूल्य वृद्धि खाने तेलको भएको छ । दशै–तिहारमा प्रति लिटर २ सय ६० पर्ने सूर्यमुखी तेलमा अहिले ९० रुपैयाँ बढेर ३ सय ५० पुगेको छ । तोरीको तेलमा प्रति लिटर ७० रुपैयाँ बढेर ४ सय पुगेको छ ।
यस्तै सोयाविन तेलमा ६० रुपैयाँ बढेर प्रति लिटर ३ सय २० पुगेको छ । यस्तै सबै किसिमको दाल तथा चामलमा प्रति किलो १५ देखि २५ रुपैयाँ बढेको छ । बजारमा फलफूल तथा तरकारीको मूल्य पनि बढेको उपभोक्ताले गुनासो गरेका छन् ।
यसैगरी मासु तथा दुग्धजन्य वस्तुमा पनि चार पाँच महिना अगाडिको मूल्यमा १० देखि एक सय रुपैयाँ बढेको छ । दुधको मूल्यमा १० रुपैयाँ बढेर प्रति लिटर ८० पुगेको छ भने दहीको मूल्य पनि १० रुपैयाँ बढेर ८० पुगेको छ । ९ सय प्रति किलो पाइने घ्युको मूल्य १ हजार पुगेको छ भने ६ सय ५० बाट पनिरको मूल्य बढेर ७ सय भएको छ ।