श्रद्धाभक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी मनाईंदै

६ भाद्र २०७६, शुक्रबार १६:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व शुक्रवार देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धाभक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा शुक्रवार नेपालगञ्जका मन्दिरलगायत आसपासका क्षेत्रहरुमा भगवान श्रीकृष्णको जन्मोत्सव भव्यरुपमा मनाईंदै छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं. २०६४ पछि काटिएको छ ।

Next Post

प्रतिष्ठानका उपकुलपतिको राजिनामा माग

६ भाद्र २०७६, शुक्रबार १६:०५
सदरलाइनडटकम, दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजिनामा माग गरिएको छ । दाङको घोराहीमा शुक्रवार भएको सर्वपक्षीय भेलाले प्रतिष्ठानका उपकुलपति डाक्टर भण्डारीको कार्य असक्षमता देखिएकाले सम्बन्धित पक्ष समक्ष उनको राजिनामा माग गर्ने निर्णय गरेको छ । सामुहिक राजिनामा दिएर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका चिकित्सकहरुको माग सम्बोधन गरी […]