पहिलो पटक एचआईभी संक्रमित महिलाको सफल उपचार

सदरलाइन संवाददाता ४ फाल्गुन २०७८, बुधबार १५:०७
 

एजेन्सी : अमेरिकामा पहिलो पटक एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । वैज्ञानिकले ‘न्यू योर्क प्यासेन्ट’ (न्यू योर्ककी बिरामी) भनेर नामाकरण गरेकी एक महिला ‘स्टेम–सेल’ थेरापीपछि एचआईभी मुक्त भएकी हुन् ।

न्यू योर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा ती महिलाको सफल उपचार भएको डेली मेलले जनाएको हो । ‘स्टेम–सेल’ थेरापीपछि एचआईभीलाई जितेकी ती महिला रक्त क्यान्सर (ल्यूकेमिया)को बिरामीसमेत रहेको समाचारमा उल्लेख छ । उनी एचआईभीमुक्त हुने चौथो व्यक्ति हुन् । यसअघि एचआईभी संक्रमित तीनजना पुरुषको सफल उपचार भइसकेको छ ।

ती महिलालाई २०१३ मा एचआईभी र २०१७ मा ल्यूकेमिया भएको थियो । चार वर्षसम्म उपचार गरेपछि उनी क्यान्सरमुक्त भएकी थिइन् भने गत हिउँदमा स्टेम–सेल थेरापी रोकिएको थियो । थेरापी रोकिएको एक वर्षपछि उनको शरीरमा एचआईभीबाट संक्रमित कुनै कोष फेला परेको थिएन ।

 


के हो स्टेम–सेल थेरापी ?

‘स्टेम–सेल’ थेरापी क्यान्सर र एचआईभी जस्ता गम्भीर रोगको उपचार वा रोकथाम गर्न अपनाइने एक विधि हो । एकै खाले कोष उत्पादन गर्ने कोष (सेल) को प्रयोग हुने हुँदा यो विधिलाई स्टेम–सेल थेरापी भनिएको हो । यो निकै जोमिमपूर्ण उपचार विधि पनि हो । कतिपयले क्यान्सर अन्तिम चरणमा पुगेका मानिसमा यो विधि प्रयोग गर्नु अनैतिक समेत मान्छन् ।

यो थेरापीका लागि सबैभन्दा पहिला दाता (डोनर) को आवश्यकता पर्छ । शरीरमा दुर्लभ प्रकृतिको म्युटेशन हुने भएका कारण दाताले भाइरसको प्रतिरोध गर्न सक्छन् । विज्ञहरूका अनुसार खासगरी युरोपको उत्तरी क्षेत्रमा बस्ने मानिसमा यस प्रकारको म्युटेशन हुने गर्छ ।

स्टेम–सेल थेरापीका लागि दाताले आफ्नो नाभीको रगत र हड्डीभित्रको मासी दान गर्छन् । दान गरेको रगत र मासीलाई बिरामीको शरीरमा प्रत्यारोपण गरिन्छ । नाभीको रगतले रक्त क्यान्सरसँग लड्न सघाउँछ भने हड्डीभित्रको मासीले स्टेम–सेल प्रदान गर्छ ।

तर, स्टेम–सेल थेरापीका क्रममा प्रायः बिरामीको मृत्यु समेत हुने गर्छ । यही भएर सामान्य उपचार विधिमार्फत् एचआईभीसँग लड्न सक्ने स्वस्थ मानिसको उपचारमा यो विधि प्रयोग हुँदैन । त्यस्तै, क्‍यान्सर अन्तिम चरणमा पुगेका बिरामीको उपचारमा समेत यही विधि प्रयोग गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बन्दको अवज्ञा गरेको भन्दै बाँकेमा एक गाडीमा तोडफोड

४ फाल्गुन २०७८, बुधबार १५:०७
नेपालगञ्ज : अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा आव्हान गरिएको बन्द अवज्ञा गरेको भन्दै बाँकेमा एउटा गाडीमाथि तोडफोड भएको छ । बन्द अवेज्ञा गरेको भन्दै पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको बैजनाथस्थित बनकटवा चोकमा बुधवार विहान सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयको ००१ झ ४०१ नम्बरको गाडिमा तोडफोड भएको हो । यस्तै नेपालगञ्जबाट तीनजना बन्दकर्तालाई […]