नेपालगञ्ज : ‘पत्रकार हुँ’ भन्दै नाकाका प्रहरीसँग पैसा उठाउने मनोज तमोलीलाई अभद्र व्यवहारमा कारबाही हुने भएको छ ।
बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार यसअघि पनि पक्राउ परेका तमौलीलाई अभद्र व्यवहारमा मुद्दा चलाइएको जानकारी दिए ।
भन्सारमा खटिएका प्रहरी हवल्दारसँग दश हजार रुपैयाँ मागेका जानकी गाउँपालिका–६ गनापुरका तमोलीलाई शनिवार प्रहरीले पक्राउ गरेको थियो । तमोलीले नाकामा खटिएका प्रहरीलाई ‘तिमीले पैसा लिएको भिडियो छ । पैसा देऊ नत्र सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याउने गरेका थिए ।
यसअघि पनि तमोलीले प्रहरीलाई क्यामेरा किनिदेउ भन्दै धक्म्याएका थिए । प्रहरीले त्यतिबेला सार्वजनिक मुद्दा चलाएको थियो । तमोली धरौटीमा छुटेका थिए ।
तमोलीले क्राइम सतर्क टेलिभिजनको कार्ड बोकेका छन् । यसअघि एबीपी क्राइम न्यूजको कार्ड देखाउने गरेका थिए । एबीपी क्राइम न्यूजका आशिष मल्ल केही दिनअघि मात्रै धरौटीमा छुटेका छन् ।
यी दुवै पत्रकारका नाममा, गलत काममा लाग्ने गरेको प्रहरीको भनाइ छ । दुवै जना, पत्रकारका कार्यक्रमहरुमा पनि देखा पर्ने गरेको भएपनि पत्रकार महासंघको सदस्य भने छैनन् ।