बर्दिया : बर्दियाको गेरूवा गाउपालिका–४ मा आइतबार भैसी चराउन घर नजिकैको खरबारीमा गएका एक व्यक्ति पाटे बाघको आक्रमणमा परि ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले दिएको जानकारी अनुसार घर नजिकैको खरबारीमा भैसी चराउन गएका गेरूवा–४ राजिपुरका ६८ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको हो ।
आइतबार साँझ साढे ४ बजे घरनजिकैको खरबारीमा भैसी चराउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको कारण निकुञ्ज आसपासका बस्तीमा मानव तथा बन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको छ ।
ईप्रका पाताभारबाट प्रहरी निरिक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले खरबारीमा बाघले टाउकोको भाग खाएको अवस्थामा भेटेको जनाईएको छ । प्रहरीले बाँकी विवरण आउन बाँकी रहेको जनाएको छ ।