नेपालगञ्ज : आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा युएईसंग ४८ रनले पराजित भएपछि नेपाल ग्लोबल छनोट पुग्न असफल भएको छ ।
६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ ।
ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो । हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो ।
ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।
आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ । नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।