नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मासिक तलव, कोभिड भत्ता पाउनु पर्ने माग राखेर आज प्रशासन, लेखा र स्टोर कक्षमा तालाबन्दी गरेका छन् ।
उनीहरुले तीन महिनादेखि तलव भत्ता नपाएको बताएका छन् । आफ्नो ज्यानको प्रवाह नगरि कोभिड महामारीमा खटिँदा समेत जोखिम भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आक्रोशित भएका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले बाँकी तलव र जोखिम भत्ता एकमुष्ट पाउनुपर्ने माग गरेका छन् । माग सम्वोधन नभए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिएका छन् । अस्पतालले भने एकमुष्ट तलवभत्ता दिने अवस्था नरहेको बताएको छ ।
अस्पतालका उपनिर्देशक श्याम शर्माले कोभिड महामारीका कारण अस्पताल घाटामा रहेको भन्दै एकमुष्ट तलवभत्ता दिन सक्ने अवस्थामा अस्पताल प्रशासन नरहेको बताए । ‘तलवभत्ता नदिने भनेका छैनौं उनले भने–‘अस्पतालको अवस्थापनि आन्दोलनकारीले बुझ्नु पर्छ । लोनको प्रोसेसमा छौं साउन पहिलो सातासम्म एक महिनाको तलव पाउनुहुन्छ ।’ उनले अहिले अस्पताल ५० करोड घाटामा रहेको पनि दावी गरे ।