नरैनपुरका आगलागी पीडितलाई तत्कालै सरकारी राहत

रुद्र सुवेदी २५ फाल्गुन २०७७, मंगलवार १२:१५
 


नेपालगञ्ज : बाँकेको नरैनापुरमा सोमबार बिहान भएको आगलागी पीडितलाई जिल्ला दैवि आपतकालिन कार्य सञ्चालन केन्द्रले नगद र अखाद्य राहत वितरण गरेको छ । स्थानीय मनिजर पासीको खरले छाएको घरबाट सुरु भएको आगलागीबाट २२ घर जलेर नष्ट भएका थिए ।

जिल्ला दैवि आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गको नेतृत्वमा पुगेको जिल्लाका सुरक्षा निकायका प्रमुख तथा रेडक्रशकर्मीको टोलीलाई प्ति परिवार १५ हजार नगद र तिपाल, कम्बल, भाँडाकुडा सहितको करिव ७ हजार बराबरको अखाद्य समाग्री राहत वितरण सोमबार नै गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले नरैनापुर–१ सुईयाको दलित बस्तीमा भएको आगलागिका पीडितका लागि तत्काल नगदै १५ हजार र अखाद्य समाग्रीको राहत प्याकेज वितरण गरिएको बताउदै उनीहरुको व्यवस्थापनको लागि पहल गरिने जानकारी दिए ।

बाँकेको नरैनापुर आगलागीको दृष्टिले अत्यन्तै सम्बेदनशिल मानिन्छ । परम्परागत र पुरानो बस्तीको कारण खरको छानोका कारण बर्षेनी आगलागीबाट ठूलो धनजन क्षति हुने गरेको छ । तत्काल नै राहत लिएर घटनास्थल पुगेका प्रजिअ कुरुम्बाङ्गले आगलागी पीडितको अवस्था बुझ्नुको साथै उनीहरुको व्यवस्थापनको लागि पहल गरिने बताए ।


सोमबार बिहान ११ बजेबाट सुरु भएको आगलागी १२ बजे मात्रै नियन्त्रणमा आएको थियो । घरका अभिभावकहरु खेती किसानीमा व्यस्त भएको र घरमा बालबालिका मात्र भएको समयमा अचानक आगलागी भएपछि शरिरमा भएको लत्ताकपडा बाहेक कुनै पनि सामान जोगाउन नसकेको पीडित निता पासीले बताईन । उनको जस्तै सबै २२ घर परिवारको अवस्था छ ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आगलागी पीडितहरुलाई तत्काल संयुक्त खानाको व्यवस्था गाउपालिकाले मिलाएको बताउदै नरैनापुरमा खरको छाना मुक्त बनाउने कार्यमा केन्द्र र प्रदेश सरकारको ध्यान जानु पर्ने माग गरे । उनले भने–‘नरैनापुरमा खरको छाना मुक्त अभियानलाई तीब्र बनाउनु प¥यो वर्षेनी थोरैमा पनि २ हजार घर नियर्माण गर्ने योजना आउनु पर्छ ।’

घटनाको जानकारी पाउने वित्तिकै सुइया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन भई आगो नियन्त्रणमा लिइएको थियो । फोटो : रुद्र सुवेदी

Next Post

एसईई परीक्षा जेठ १३ देखि २४ गतेसम्म

२५ फाल्गुन २०७७, मंगलवार १२:१५
काठमाण्डौ : २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।